•   Wednesday, 12 Jun, 2024

विख्यात र विवादास्पद किसिन्जर, जो नेपाली कूटनीतिको तारिफ गर्थे

this
Generic placeholder image
  

काठमाडौं । अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा बुधबार निधन भएको छ । शताब्दी लामो आयु बाँचेका किसिन्जरले लामो उमेरसँगै एक जटिल विरासत हुर्काए जुन असाधारण उपलब्धि र गम्भीर विवादहरूले भरिपूर्ण रहे ।

विश्वमा बलियो अमेरिकी उपस्थितिको मुखर प्रवक्ता र कर्ता बन्ने क्रममा उनीमाथि मानवअधिकार उल्लङ्घनमा संलग्नता र नैतिकताभन्दा भूराजनीतिक स्वार्थलाई प्राथमिकता दिएको आरोप लाग्दै आएको छ । २०औ शताब्दीका सर्वाधिक प्रभावशाली र विवादास्पद कूटनीतिज्ञका रूपमा उनले अन्ततः आफ्नो लामो र सक्रिय जीवन अन्त्य गरेका छन् ।

उनको विरासत बारे निसन्देह आगामी दिनहरूमा पनि बहस जारी रहनेछ । उनका समर्थकहरूले आधुनिक संसारलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेका राजनेताको रूपमा सम्झिइरहँदा आलोचकहरूले शक्तिको खोजीमा ठूलो मानवीय मूल्यसँग सौदाबाजी गरेका एक निर्मम र युद्धअपराधी खलनायकका रूपमा बिर्सन खोज्नेछन् ।

तर उनलाई बिर्सन त्यति सजिलो छैन किनकि विश्वव्यापी इतिहासमा लामो समयसम्म उनको प्रभावशाली उपस्थिति र त्यसले पैदा गरेका तरङ्गको अस्तित्वबाट अलप हुने छैनन् ।

हेनरी किसिन्जरको विरासत एक जटिल र बहुआयामिक छ, जसलाई उनको प्रतिभा, उनको महत्वाकांक्षा, र वास्तविक राजनीतिको शक्तिमा उनको अटल विश्वासले आकार दिन्छ। उनी विरोधाभासपूर्ण मानिस थिए, जसलाई उनले कूटनीतिक दक्षता र राजनीतिक चतुरताले लुकाउन खोजे ।

किसिन्जरको विरासत कूटनीतिक विजय र नैतिक उल्लंघनहरूको जटिल चित्रपट हो। त्यसैले त मृत्युसँगै अन्तर्राष्ट्रिय परिदृश्यमा उनको गहिरो प्रभावको बारेमा आलोचनात्मक छलफलहरू पुनः सुरु भएको छ । उनको रणनीतिक कुशलता र कूटनीतिक सफलताहरू निर्विवाद रहँदा, उनको विवादास्पद विधिहरू र मानवअधिकार उल्लङ्घनसँगको सम्बन्धले उनका उपलब्धिहरूमा अनन्त ग्रहण लागिरहनेछ ।

सिपाही, प्राध्यापक हुँदै मन्त्रीसम्म

जर्मनीको फर्थमा २७ मे १९२३ मा हेन्ज अल्फ्रेड किसिन्जर जन्मिंदा युरोपेली आकाशमा युद्धको कालो बादल मडारिरहेको थियो । जर्मन शासक एडोल्फ हिटलरको विश्वविजेता बन्ने महत्वाकांक्षाले सिर्जना गरेको आतंकबाट भाग्दै किसिन्जरको परिवार सन् १९३८ मा सुरक्षित गन्तव्य खोज्दै अमेरिका पुग्यो ।

सन् १९४३ मा अमेरिकी नागरिकता प्राप्त गरेपछि तीन वर्ष अमेरिकी सेनामा काम गरेलगत्तै उनी प्रतिजासुसी समूहमा भर्ना भए । अध्ययन अगाडि बढाउने क्रममा विद्यावारिधि हासिल गरेपछि उनले हावर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्यापन सुरु गरे ।

यसरी अमेरिका प्रवेश गर्दा अंग्रेजीमा कमजोर रहेका उनी हावर्डको विद्यार्थी हुँदै प्राध्यापक बने । विस्तारै उनले अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिको विशेषज्ञका रूपमा संसारसामू आफूलाई प्रस्तुत गरे ।

शीतयुद्धकालीन समयमा उनका तार्किक विश्लेषणले नेतासँग सम्बन्ध बन्न थाल्यो । उनले अमेरिकी सेनाको जनरल हुँदै राजनीतिमा आएका राष्ट्रपति ड्वाइट आइजनहावर (सन् १९५३-१९६१)को पालादेखि नै अमेरिकी रणनीति आकारित गर्न सल्लाह दिन थालेका थिए । सन् १९६० को दशकमा किसिङ्गरको शक्तिमा उकालो लाग्न थाल्यो जब उनले चतुर बुद्धि र रणनीतिक कुशाग्रताले राष्ट्रपति रिचर्ड निक्सनको ध्यान खिचे । उनी निक्सनको विदेशमन्त्री र राष्ट्रिय सुरक्षाा सल्लाहकार बने ।

लगत्तै अर्का राष्ट्रपति जेराल्ड फोर्डको कार्यकालमा पनि किसिन्जरले पुरानै भूमिका निर्वाह गर्न पाए । वासिङ्टन पोस्टमा प्रकाशित एक रिपोर्टका अनुसार उनी एकै समय ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा सल्लाहकार र अमेरिकी विदेशमन्त्री बन्ने एक मात्र व्यक्ति हुन् ।

जर्मनीमा जन्मिएकै कारण उनले अमेरिकी कानुन अनुसार अमेरिकी राष्ट्रपति बन्ने स्पर्धामा मैदानमा उत्रन पाएनन् तर नीति निर्माण र निर्णयमा उनको शक्ति राष्ट्रपतिको भन्दा कमजोर रहेन । शीतयुद्धकालीन समयका संवेदनशील समयमा अमेरिकी कूटनीतिलाई सुस्पष्ट आकारित गर्न उनले नेतृत्वदायी भूमिका खेले ।

अमेरिकी राजनीतिमा राजकीय भूमिकासहित उनको प्रभावशाली उपस्थितिको एउटा अध्याय सन् १९७६ को राष्ट्रपतिको निर्वाचनमा जिम्मी कार्टर निर्वाचित भएसँगै सकियो । किनकि उनी पक्षका उम्मेदवार जेराल्ड फोर्ड निर्वाचनमा पराजित भए । त्यसपछि पनि उनी वैश्विक रूपमा वैयक्तिक रूपमै भए पनि निजीकरणको लहर फैलाउने भूमिकामा देखिए ।

ह्वाइट हाउस ईयर्स, ए वर्ल्ड रिस्टोर्ड, डिप्लोमेसी, अन चाइना, वर्ल्ड अर्डर, दि एज अफ एआई लगायतका २१ कृतिहरू मार्फत् उनले विश्व राजनीति र कूटनीतिको क्षेत्रमा योगदान गरेका छन् ।

सन् १९७७ मा सरकारी सेवा छाडेपछि पनि उनले सार्वजनिक मामिलाका प्रभावशाली टिप्पणीकारको भूमिका निर्वाह गरे । सुरक्षा र विदेश नीतिका विभिन्न समारोहमा देश विदेशमा सक्रिय सहभागिता जनाए ।

१०० वर्ष लामो दुर्लभ आयु बाँचेका उनी जीवनको अन्तिम क्षणसम्म सक्रिय रहे । गत मे महिनामा १०० वर्ष पुगेका उनले जुलाईमा चीन पुगेर चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटेका थिए ।

जत्तिको प्रभाव, उत्तिकै विवाद

रोयटर्सका अनुसार उनको मृत्युपछि चीनका लागि पूर्व अमेरिकी राजदूत र ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषदमा किसिञ्जरका पूर्व विशेष सहायक विन्स्टन लर्डले भनेका छन्, ‘विश्वले शान्तिका अथक योद्धा गुमाएको छ। अमेरिकाले राष्ट्रिय हितको ठूलो च्याम्पियन गुमाएको छ।’ तर उनलाई चिन्ने र बुझ्ने अर्को पक्ष पनि छ ।

‘हेनरी किसिन्जर जो चिलीदेखि अर्जेन्टिनासम्म, प्यालेस्टाइनदेखि सिरियासम्म, इराकदेखि इरान हुँदै अफगानिस्तानसम्म, इन्डोनेसियादेखि भियतनामसम्म, लाओसदेखि कम्बोडियासम्म, बंगलादेशदेखि दक्षिण अफ्रिकासम्म, एङ्गोलादेखि जमाइका हुँदै पूर्वी टिमोरसम्म र अरु धेरै देशहरूमा मृत्यु र विध्वंशका लागि जिम्मेवार छन्, उनी बल्ल बिते ।’

यो टिप्पणी हो एक लेबनानी भूराजनीतिक टिप्पणीकार सराहको । उनले ‘रोलिङ स्टोन’मा प्रकाशित ‘अमेरिकी शासक वर्गका प्रिय पात्र एक युद्धअपराधी अन्ततः बिते’ शीर्षकमा प्रकाशित समाचार सामाजिक सञ्जाल एक्समा शेयर गर्दै उक्त टिप्पणी गरेकी हुन् ।

भियतनाम युद्ध र शीत युद्धको समयमा अमेरिकी सरकारको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका उनले किसिन्जरलाई दक्षिणपूर्वी एशिया, ल्याटिन अमेरिका र अन्यत्र लाखौं मानिसको मृत्युको लागि जिम्मेवार रहेको भन्दै युद्धअपराधीको संज्ञा दिइन्छ । आलोचकहरूले उनलाई एक निर्दयी व्यवहारवादीको रूपमा चित्रित गर्छन् जसले अमेरिकी हितलाई अरु सबैभन्दा माथि राखे र यसको मूल्यमा लाखौं नागरिकले जीवन गुमाउनुपर्‍यो ।

‘अमेरिकाले गरेको युद्धमा एक प्रतिभाशाली रणनीतिकार हुनु भनेको के हो ?’ विभत्स युद्धमा मारिएका मानिसहरूको चिहानद्वारा खडा भएको पहाडभन्दा अग्लो हुनु हो भनेर कैयौं उनका आलोचकहरूले टिप्पणी गर्छन् ।

आलोचकहरूले उनको छवि एक निर्दयी व्यवहारवादी कूटनीतिज्ञका रूपमा निर्माण गरिदिएका छन् जसले विश्वका विभिन्न क्षेत्रहरूमा मानव अधिकार र स्थिरताको मूल्यमा अमेरिकी शक्तिलाई प्राथमिकता दिए ।

उनीहरू भन्छन्- शक्ति प्राप्ति अत्यधिक प्राथमिकतामा पर्दा आफ्ना कामहरूको नैतिक प्रभावप्रति उनी बेपर्वाह रहे । विश्वमा व्यापक पीडा र अस्थिरताको लागि मलजल गरिरहे ।

खासगरी कम्बोडिया र चिलीजस्ता देशहरूमा किसिन्जरको नीतिले लाखौं मानिसहरूको मृत्यु भएको मानिन्छ । चिलीका राष्ट्रपति साल्भाडोर एलेन्डेको सत्ताच्यूत र कुख्यात तानाशाह अगस्टो पिनोसेको उदयमा किसिञ्जरको नाङ्गो संलग्नताका कारण पनि उनी आलोचित हुँदै आएका छन् । अमेरिकाले अर्जेन्टिनामा पनि यस्तै दक्षिणपन्थी ‘कु’ गरायो ।

बंगलादेश पाकिस्तानबाट विभाजित बनिरहँदा भएको नरसंहारमा उनले पाकिस्तानको साथ दिएका थिए । चीनसँग सम्बन्ध बढाउने मूल्यमा बंगलादेशमाथि पाकिस्तानको नृसंश दमनलाई अमेरिकाले समर्थन गरेको थियो र उक्त नरसंहारमा झण्डै ३-३० लाख नागरिकको मृत्यु भएको थियो भने २ देखि ४ लाख महिला बलात्कृत भएको दाबी गरिन्छ ।

शीतयुद्धताका सोभियत संघविरुद्ध संसारका धेरै देशमा वामपन्थी सरकारविरुद्ध दक्षिणपन्थी तानाशाहहरूको उदय भएपछि किसिन्जरको सल्लाहमा काम भएका थिए ।

किसिन्जरको यो कार्यदिशा सोभियत संघलाई एक्ल्याउँदै चीनसँग सम्बन्ध सुधार्ने रणनीति अन्तर्गत रहेको भन्ने गरिन्छ । उनले भियतनाममा युद्ध जारी राख्न राष्ट्रपति निक्सनलाई सल्लाह दिएर नृसंश युद्ध लम्ब्याए । तर समय अन्तरालमा त्यहीं शान्तिको लागि पहल गरेको जस लिनेगरी उनले भूमिका निर्वाह गरे । जसलाई लागि उनले पाएको नोबेल पुरस्कार अत्यधिक विवादास्पद रह्यो ।

अमेरिकीलाई जसरी पनि माथि राख्ने प्रयासमा युद्ध र दमनलाई प्रोत्साहन गरेका कारण पनि विवादमा पर्दै आए । यी सबै काममा उनी निर्मम व्यवहारवादी बने र लाखौं मान्छेको मृत्युलाई सामान्य रूपमा लिए ।

उनका भूराजनीतिक रणनीतिहरूले अक्सर अनपेक्षित परिणाम निम्त्याएको आलोचकहरूको टिप्पणी रहने गरेको छ । वैश्विक द्वन्द्व उत्कर्षमा पुगेको बेला उनले विश्वव्यापी भूराजनीतिक परिदृश्यलाई आकार दिन जति उचाइबाट भूमिका खेले, त्यही उचाइबाट लाखौं निर्दोष मानिसहरूको मृत्यु र घातक भौतिक क्षतिका लागि जमिन बनाइदिए ।

वामपन्थी प्रभाव विस्तारित क्षेत्रमा उनले ‘ह्वाइट सुप्रिमेसी’ चेतद्वारा सिर्जित अत्याचार थोपरेको आरोप उनको मृत्युपछि पनि लाग्न छाडेन । सामाजिक सञ्जालमा केही मानिसहरू उनको मृत्युलाई पनि उत्सवका रूपमा मनाइरहेका छन् ।

पश्चिमा मिडियासँगको हिमचिमका कारण उनले पहुँच पत्रकारिता र वाटरट्यापहरू प्रयोग गर्थे जसबाट उनले आफ्ना कार्यहरू वरपरको कथा नियन्त्रण गर्न सक्थे । त्यसैले उनले गलत काम गरेपनि आम मानिसमा सकारात्मक धारणा बनाउन चतुरपूर्वक काम गरेको आरोप लाग्ने गरेको छ ।

‘हुन त राज्यलाई शक्ति प्रयोगको एकाधिकार भएको संस्थाका रूपमा परिभाषित गर्ने गरिन्छ तथापि बल प्रयोगमा भर पर्नु नेतृत्वको अक्षमताको लक्षण हो,’ उनी भन्ने गर्थे । अमेरिकी शक्ति र साम्राज्य कामय राख्ने मूल्यमा उनले आफ्नो यही आदर्श भनाइ विपरीत काम गरे र युद्धका कारण अमूल्य जनधनको क्षति भयो ।

सँगसँगै किसिन्जर एकजनाले अमेरिकाको महाशक्ति बनिरहने महत्वाकांक्षालाई रोक्न सक्थे कि सक्दैनथे भन्ने प्रश्न पनि छँदैछन् । उनी ८ वर्षको छोटो अवधिमा विदेश सचिव र राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिकामा अमेरिकी भूमिकासहितको युद्धका कारण कति मानिसको मृत्यु भयो ? हिसाबकिताब हुन छाड्ने छैन ।

उज्यालो पक्ष

सँगै, एकाथरीले हेनरी किसिङ्गरलाई चतुर र सफल कूटनीतिज्ञको पगरी गुथाउँछन् । समर्थकहरूले उनलाई एक शानदार रणनीतिकारका रूपमा सम्झन्छन् जसले विदेश नीतिको उथलपुथलपूर्ण युगमा अमेरिकी शक्ति कायम राख्न मद्दत गरे ।

उनले चिनियाँ नेता माओ र राष्ट्रपति निक्सनबीच भेटवार्ता गराएका थिए, जसले चीन-अमेरिका द्वन्द्वलाई अन्त्य गराएको थियो । माओ-निक्सन भेटवार्ता विश्व राजनीतिमा निकै चर्चित छ । चीनका अति प्रभावशाली मित्र मानिने उनले सन् १९७० को दशकमा चीनलाई कूटनीतिक अलगावबाट बाहिर निकालेका थिए ।

अमेरिका-चीन शक्ति सन्तुलन कायम राख्न अमेरिकाले पहल गर्नुपर्नेमा जोड दिने किसिन्जरले दुई देशबीच स्थायी सम्वाद पनि आवश्यक रहेकोमा जोड दिन्थे । सन् १९७० को दशकमा अनन्तकालसम्म लम्बिने जोखिममा रहेको भियतनाम युद्ध अन्त्य गर्ने र रुसलाई एक्लाएर चीनसँग सम्बन्ध बढाउने रणनीतिलाई उनले अगाडि सारे ।

उनी अमेरिका र चीनले सहअस्तित्व स्वीकार नगरे विश्वले तेस्रो विश्वयुद्ध झेल्ने बताउँदै आएका थिए । उनी भन्थे, ‘यी दुई देशले स्थायी रूपमा संवाद गरेर शक्ति सन्तुलन गर्नु आवश्यक छ ।’ तर पछिल्लो समय उनी अमेरिकामा चीनमा जनि पनि नसुनिने अवस्थामा पुगिसकेका थिए ।

सन् १९७१ को उनको ऐतिहासिक चीन भ्रमण र त्यसपछिको ५ दशकमा उनले १०० पटक चीनको भ्रमण गरे । चीन-अमेरिकाको सम्बन्ध सुधारेर रुसलाई एक्ल्याउन उनले आधा शताब्दी पहिला खेलेको भूमिका अहिलेसम्म याद गरिन्छ ।

एक शताब्दी उमेर बाँचेका उनी एउटा यस्तो अद्भूत कूटनीतिज्ञ हुन् जसले माओत्सेतुङ, देङ सियाओपिङ, जियाङ जेमिन, हु जिन्ताओ, सी जिनपिङ गरी चीनका पाँच पुस्ताका शीर्ष नेतासँग घनिष्ठ सम्बन्ध विकास गर्न सके ।

चिनियाँहरू किसिन्जरलाई उनको दृष्टिकोण, चीनबारे गहिरो बुझाइ र शान्ति स्थापना गर्ने असाधारण क्षमताका कारण अत्यधिक मान्छन् । अमेरिकासँग सम्बन्ध सुधार्न नसकेको भए चीनले अहिलेको आकारमा अर्थतन्त्रको विकास गर्न नसक्ने बुझाइ चिनियाँहरूकै छ ।

अनेकौं आलोचनाका बावजुद पनि अमेरिकी रणनीतिक फाइदाकै लागि भए पनि उनले गरेका कतिपय शान्ति प्रयासलाई लिएर विश्वलाई किसिन्जरलाई सकारात्मक रूपमा पनि सम्झन्छ ।

सन् १९७३ मा इजरायल र अरब मुलुकहरूको योम किप्पुर युद्धको अन्त्य गर्न उनले शृङ्खलाबद्ध प्रयास गरेका थिए ।

उनले अपनाएको डेटेन्टे नीति अन्तर्गत सोभियत संघसँग भएका आणविक हतियारको संख्या सीमित गर्ने र बलिस्टिक क्षेप्यास्त्र विरोधी सन्धिका लागि पनि उनलाई जस जान्छ जसले विश्वमा आणविक युद्धको त्रास न्यूनीकरण भएको छ ।

उनलाई कतिपय पश्चिमा लेखकहरूले रणनीतिक हतियार सीमितीकरण सन्धि (साल्ट १ सन्धि), मध्यपूर्वमा भड्किएको युद्धको सापेक्षित अन्त्य, रोडेसियाको दुर्लभ सत्ता हस्तान्तरण, भियतनाम युद्धको अन्त्य र चीन-अमेरिका सम्बन्ध स्थापित गर्न खेलको भूमिका लागि सम्झनुपर्ने बताउँछन् । तर यी सबै काम वृहत्तर अमेरिकी हित रक्षाको रणनीतिक योजनाअन्तर्गत गरिएको सम्झन्छन् ।

उनको व्यक्तित्व यति प्रभावी थियो कि उनी राजकीय भूमिकाबाट बाहिरिए पनि वैश्विक कूटनीतिमा आफ्नो प्रभाव देखाउन सकिरहे ।

नेपाल सम्बन्ध र केही सिकाइ

सन् १९६८ मा हावर्ड विश्वविद्यालयमा एक वर्षे कोर्ष गर्न गएका तत्कालीन राजा वीरेन्द्रलाई किसिन्जरले पनि पढाएका थिए ।

राजा वीरेन्द्रले सन् १९८३ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको निमन्त्रणामा अमेरिकाको राजकीय भ्रमण गरेका थिए। त्यतिबेला पनि किसिन्जरसँग नेपालका तत्कालीन राजा-रानीको भेटवार्ता भएको थियो ।

सोही भेटमा दिइएको नेपाल भ्रमणको निम्ता स्वीकार्दै किसिन्जर १९८५ को जनावरी (१ माघ २०४०) मा नेपाल आएका थिए । सो भ्रमणमा उनले शंकर होटेलमा प्रवचन दिनुका साथै चितवन र पोखरा पनि घुमेका थिए ।

त्यसो त किसिन्जरले आफ्नो पुस्तक ‘वर्ल्ड अर्डर: रिफ्लेक्शन अन क्यारेक्टर अफ नेशन्स एन्ड द कोर्स अफ हिस्ट्री’मा नेपालको कूटनीतिक परम्पराको प्रशंसा गरेर लेखेका छन् । चीन र भारतसँग नेपालले शताब्दीयौंदेखि कुशलतापूर्वक सन्तुलित गर्दै आएको प्रसंग पुस्तकमा उल्लेख छ ।

किसिन्जर अमेरिकाको कुनै स्थायी मित्र वा शत्रु नभएको र अमेरिकाको दुश्मन हुनु खतरनाक छ, तर अमेरिकाको मित्र हुनु झन् घातक छ भन्ने गर्दथे ।

किसिन्जरको विचारमा नेतामा हुनैपर्ने गुणहरू हुन्- साहस र नैतिकता । परिवारको एकजना सदस्य युद्धबाट गुम्नुको पीडालाई अमेरिकी नीतिका कारण भएका युद्ध र त्यसबाट मारिएका मानिस र उनीहरूको आफन्तको पीडा गुणन गर्ने हो भने पीडाको अनन्त आकाश सिर्जना हुन्छ । जहाँबाट हेर्दा एक मानवको रूपमा उनको जीवन असफल सावित हुनसक्छ । तर, राज्य र हिंसा प्रयोगका सैद्धान्तिक दृष्टिकोणका अगाडि यी भावनात्मक तर्क सधैं कमजोर रहँदै आएका छन् ।

उनी स्वीकार गर्थे कि एक रणनीतिकारका रूपमा नेताले एउटा स्वाभाविक विरोधाभासको सामना गर्नुपर्छ।

आफ्नो पुस्तक ‘लिडरशिप’को परिचय खण्डमा किसिन्जरले लेखेका छन्, इतिहासले हामीलाई सधैं सिकाएको छ कि एक व्यक्तित्वमा आधारित संरचना सधैं कमजोर हुन्छ । उनीहरू क्रान्तिकारी नभएर महत्वाकांक्षी हुन्छन् र उनीहरूले बुझ्दैनन् कि स्थापित संस्था र मान्यताहरू त्याग्नुपर्ने नयाँ परिस्थिति सिर्जना भएको छ ।’

किसिन्जरका जीवनका अँध्यारा-उज्याला प्रभाव त छँदैछन् । उज्यालो पक्षबाट सिक्न चाहने हो यतिवेला नेपालका शीर्ष नेताहरूले उनीबाट यही कुरा सिक्न सक्छन् ।

एक विद्वान, राजनीतिज्ञ र अनुभवी कूटनीतिज्ञको ठूला प्रभाव छाडेका हेनरी किसिन्जर गहिरो विरोधाभासहरू छाडेर अस्ताएका छन् । उनले जति उपलब्धिको जस बोक्छन्, त्यति नै नैतिक उल्लंघनको आरोप खेपिरहनुपर्नेछ ।

विरोध र समर्थनमा जेजस्ता आवाज उठे पनि अन्तर्राष्ट्रिय व्यवस्थामा किसिङ्गरको दिगो प्रभावलाई नजरअन्दाज गर्न सकिंदैन। यद्यपि ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’को प्रमुख वास्तुकारका रूपमा चिनिएर बिदा भइरहँदा नियमअन्तर्गत नै विश्वमा थोपरिएका युद्ध र हिंसाप्रतिको जवाफदेहिता बाँचेको विश्वले उनीबाट खोजिरहनेछ ।


Source: Online Khabar
Comment As:

Comment (0)