•   Wednesday, 12 Jun, 2024

इस्लामिक देशहरूले गाजालाई सघाउन किन सकिरहेका छैनन् ?  

this
Generic placeholder image
  

इस्लामिक देशहरूको संगठन अर्गनाइजेसन अफ इस्लामिक कन्ट्रिज (ओआईसी) को भर्खरै सम्पन्न शिखर सम्मेलनले एउटा विषय एकदमै प्रष्ट पारेको छ। त्यो हो- बाहिर भनिने/सुनिने सबै दाबीहरूका बावजुद कुनै पनि प्रमुख अरब राष्ट्र प्यालेस्टिनीहरूको साथ खडा छैन। अल्जेरियाले ओआईसीलाई तेल अविवसँग सबै कूटनीतिक र आर्थिक सम्बन्धमा रोक लगाउन, इजरायली उडानहरूको लागि अरब हवाई क्षेत्र बन्द गर्न र गाजामा युद्धविरामको लागि दबाब दिन प्रस्ताव गर्‍यो।

तर जुन देशहरूले यसलाई पारित हुनबाट रोके, उनीहरूको नाम सुन्दा तपाईं छक्क पर्नुहुनेछ। यसमा अरबी दुनियाँको राजनीतिक केन्द्र अरब र यसको आर्थिक नेतृत्व यूएई सहभागी थियो। आफ्नो जनसङ्ख्याको दुई तिहाइ प्यालेस्टाइनमा रहेको जोर्डन जसले इजरायललाई कडा शब्दमा निन्दा गर्छ।

अर्को ठूलो अरब राष्ट्र इजिप्ट गाजा र सुडानमा हुने कुनै पनि घटनाबाट सबैभन्दा बढी प्रभावित हुन्छ। र बहराइन, मोरक्को लगायत देशसँग मिलेर अलकायदालाई आश्रय दिन्छ भनेर अहिलेसम्म मानिने सुडान समेत यी सबै देशहरू प्यालेस्टिनीहरूको पक्षमा अल्जेरियाले राखेको प्रस्तावको विपक्षमा उभिए। सम्मेलनमा सहभागी नभएका प्रभावशाली गैर-अरब मुस्लिम राष्ट्रहरू- टर्की र इन्डोनेसियाले पनि केही गरिरहेका छैनन्।

यसको विपरीत, गाजा त्रासदीलाई गम्भीरतापूर्वक लिएका मुस्लिम देशहरू मुख्यतया छन् – यमनका हुथी, लेबनानको हिजबुल्लाह र इरान। कुनै अन्य मुस्लिम देशले इरानको भनाइसँग मिल्ने गरी बोलेका छैनन्। हिजबुल्लाह र हुथीहरू बाहेक कसैले पनि इजरायललाई यसरी दोषी देखाउन सकेको छैन। यद्यपि यो स्वार्थी र देखावटी पनि हुनसक्छ, जुन सुन्नी गाजावासीहरूको प्रयोग सिया इरानको राजनीतिक उद्देश्यहरू पूरा गर्नेसँग जोडिएको हुनसक्छ।

गाजाबाट एक हजार किलोमिटर भन्दा टाढा रहेका हुथीहरूले धेरै गर्न सक्दैनन्। तर, हिजबुल्लाह इजरायलको सीमामै छ र धेरै गर्न सक्छ। यसको शस्त्रागारमा तीनदेखि पाँच लाख रकेटहरू रहेको अनुमान छ।

सन् २०२१ मा गाजाबाट इजरायलतर्फ प्रहार गरिएका रकेटहरूको सही निशाना लगाउने क्षमतामा उल्लेखनीय वृद्धि देखिएको थियो। तर यस पटक अक्टोबर ७ मा भएको आक्रमणमा यसको फायरपावर बढी थियो। सन् २०२१ भन्दा पहिले, सामान्यतया २००-३०० मध्ये एउटा मात्र रकेटले जनसङ्ख्या भएको क्षेत्रमा प्रहार गर्न सक्थे, तर २०२१ सम्म यो बढेर १०० मा एक भयो। यदि हिजबुल्लाहले आफ्नो पूर्ण क्षमताका साथ आक्रमण गर्‍यो भने उसले इजरायलको जनसङ्ख्या भएको क्षेत्रमा एक प्रतिशत निशाना लगाउने क्षमताका साथ तीनदेखि पाँच हजार रकेट प्रहार गर्न सक्छ।

यति धेरै शक्ति हुँदाहुँदै पनि किन हिजबुल्लाहले इजरायलको अलग-थलग सीमा सुरक्षामाथि आक्रमण गरिरहेको छ ? त्यहाँ पनि उसको कारबाही निकै सुस्त छ। यहाँ हिजबुल्लाहले हमासलाई मद्दत गरिरहेको छ भन्ने सन्देश दिन चाहन्छ कि भन्ने देखिन्छ।

सिरियाली गृहयुद्ध पछि ऊ कठोर भएको छ। युद्धमा उसले आफ्ना हजारौं लडाकुहरू गुमाए पनि युद्धका लागि अनुभवी सैनिकको सङ्ख्या बढेको छ। यसका बाबजुद पनि गाजा युद्धमा मारिएका ४० हिजबुल्लाह लडाकुहरूमध्ये अधिकांश युवा, नयाँ भर्ती भएका अनुभवहीन हुन्।

हिजबुल्लाहले आफ्नो उन्नत एन्टी-शिप वा एन्टी-ट्याङ्क मिसाइलहरूको पनि प्रयोग गरिरहेको छैन। अर्कोतर्फ, हामीले देख्न सक्छौं कि हमासले प्राप्त गरेका अधिकांश रकेट, एन्टी-एयरक्राफ्ट र एन्टी-ट्याङ्क मिसाइलहरू इरानले दिएका हुन्। धेरै सोच-विचार गरेर मात्र निर्णय गर्ने इरानका तीन वटा योजना छन्।

पहिलो- हमास सुन्नी संगठन भएकोले यसलाई ध्वस्त हुन दिनुपर्छ भन्ने इरान चाहन्छ। उसले सटिक रूपबाट ७ अक्टोबरको योजनालाई अगाडि बढाएको छ, ताकि इजरायलले हमासलाई सफाया गरोस् भन्ने सुनिश्चित गर्न चाहन्छ। त्यसपछि सिया हिजबुल्लाह इजरायलको अगाडि एक मात्र सैन्य प्रतिरोध बन्नेछ।

दोस्रो- इरान र हिजबुल्लाहले सन्तुलन कायम गर्ने खेल होसियारीपूर्वक खेल्नुपर्नेछ। यदि हिजबुल्लाहले आक्रमण गरेको भए ऊ पक्कै नायक ठहरिने थियो। तर सिया-सुन्नी द्वन्द्वलाई मध्यनजर गर्दा यसले सियाहरू विरुद्ध इजरायल-सुन्नी गठबन्धन बलियो बनाउन सक्थ्यो। हमासको प्रयोग गरेर इरानले सुन्नी शिविरभित्रको आन्तरिक विभाजन बढाउने सुनिश्चित गरेको छ।

तेस्रो, हमासको विनाश र सुन्नी अरबहरूको कमजोर प्रतिक्रियालाई इरानले अघि बढाएको आणविक कार्यक्रम अपनाउनुपर्ने विषयको औचित्यको रूपमा प्रस्तुत गरिनेछ। हिजबुल्लाहद्वारा कुनै महत्वपूर्ण प्रतिकारपछि यस्तो प्रयास गर्न सकिन्छ ताकि इरान विरुद्ध इजरायली प्रहारलाई उक्साउन सकियोस्।

जहाँ इरान र हमास सिया-सुन्नीको आधारमा विभाजित छन्, त्यहीं इस्लामिक गणतन्त्रवाद उनीहरूसँग एकताबद्ध पनि छन्। मुस्लिम भाइचाराले राजतन्त्रलाई धार्मिक शासनमा बदल्न चाहेको थियो। इरानमा खोमेनीले यही गरेका छन्।

(इन्स्टिच्युट अफ पिस एण्ड कन्फ्लिक्ट स्टडिज (आईपीसीएस) का सिनियर रिसर्च फेलो रहेका अभिजित अय्यर मित्राको विचार दैनिक भास्करबाट भावानुवाद गरिएको हो।)


Source: Online Khabar
Comment As:

Comment (0)