•   Wednesday, 19 Jun, 2024

छैन पहिला जस्तो मादलको व्यापार

this
Generic placeholder image
  

‘घिन्ताङ् घिन्ताङ् मादल बज्दा नाचुँ नाचुँ लाग्छ,

किन होला अनायासै हाँसुँ हाँसुँ लाग्छ !’

साँच्चै गायिका मेलिना राईको स्वरमा सजिएको यो गीतमा भने जस्तै मादलको ताल सुन्दा ननाची बस्न कसको मन मान्ला र ! मादलुको घिन्ताङ् घिन्ताङ् ताल सुन्दा जति आनन्द आउँछ, पर्दा पछाडि लुकेको मादल बनाउँदाको दुःख सम्झँदा भने मन बहकिन्छ ।

यस्तै पीडाका बीच रमाइरहेका छन्, गोरखा नगरपालिका–१२ दशकिलोका कुलु परिवार । पुस्तौंदेखि मादल बनाएर उनीहरूले गुजारा चलाइरहेका छन् । ४२ बसन्त पार गरिसकेका हरिराम कुलु १६ वर्षको उमेरदेखि यही पेशामा घुलमिल हुँदै आए । बाबुबाजेको पालादेखि मादल बनाउने पेशालाई निरन्तरता दिन पाउँदा उनी खुशी नै देखिन्छन् ।

यही पेशाबाट परिवारको गर्जो टार्दै आएका उनले आफ्ना दुई छोरा र एक छोरीको पढाइ खर्च पनि धानिरहेका छन् । ‘सानै उमेरबाटै बुबाहरूले काम गरेको हेर्दै सिक्न थालें’ उनले भने, ‘अहिले मादल, मिरदुङ्गा, नेवारी धिमे बाजा, तबला, ढोलकी, खैंजडी लगायत छालाबाट बन्ने अन्य वाद्यवादन सबै आफैं बनाउँछु ।’

उनले बनाएको मादलको मुख्य व्यापारिक केन्द्र मनकामना बजार हो । काठमाडौं, नारायणगढ, पोखरा लगायत शहरमा पनि बिक्री हुने उनी बताउँछन् । तर पछिल्लो समय मादलको व्यापार घटेको भन्दै उनले दुःखेसो गरे । ‘पहिलेको जस्तो व्यापार अहिले छैन, तिहारमा मात्रै दुई सय बढी मादल बिक्री हुन्थ्यो, यसपटक ५० वटा भन्दा बढी गएन’, उनले भने ।

गाउँमा युवापुस्ताको कमी हुँदा पनि मादल बिक्री हुन छाडेको उनको भनाइ छ । भन्छन्, ‘युवाजति विदेश गए, गाउँघरतिर बुढापाका मात्र बाँकी छन्, अब युवाहरूले हो रमाइलो गर्ने उनीहरू नै नभएपछि गाउँमा सांस्कृतिक र भैलो कार्यक्रम पनि भएन अनि मादल पनि बिक्न छाड्यो ।’ देउसी भैलोमा मादलको सट्टा स्पिकर बजाउने प्रचलन बढेकाले पनि मादलको व्यापारमा केही असर परेको उनले बताए ।

उनी जस्तै मादल बनाउने पेशा अँगाल्दै आएका उनका माइला भाइ पूर्णबहादुर कुलुको अनुभव पनि उस्तै छ । पछिल्लो समय २५ प्रतिशतले मादलको व्यापार घटेको उनी बताउँछन् । विगतका वर्ष तिहारमा मात्रै ५०० वटा मादल बेच्ने गरेको सुनाउँदै उनले यस वर्ष मुश्किलले २०० वटा मात्र बिक्री भएको बताए । युवा पुस्ता विदेशिनुको असर मादल व्यापारमा समेत देखिएको उनको भनाइ छ ।

पछिल्लो समय मादल बनाउन प्रयोग हुने सामग्री पनि पाउन मुश्किल हुन थालेको उनी बताउँछन् । ‘गाई–गोरुको छाला पाउनै छाडे, पहिले यही गाउँघरतिर पाइन्थ्यो’, उनले भने । मादल लगायत अन्य वाद्यवादन बनाउन जनावरको छाला, काठको घार, खरी, रिङ लगायत सामग्री आवश्यक पर्ने उनले बताए । उनका अनुसार उक्त सामग्री जिल्ला बाहिरबाट किन्नुपर्छ ।

मादल बनाएरै परिवार पाल्दै आएका सोही ठाउँका बाबुराम परियार पनि पछिल्लो समय कच्चा पदार्थ पाउन मुश्किल हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘छालाको तना चाहिन्छ, पहिले गाईगोरु पाल्थे, छाला पनि सजिलै पाइन्थ्यो, अहिले गाईवस्तु पाल्न पनि छाडे, छाला पाउन पनि मुश्किल हुनथाल्यो ।’ मादलका लागि चाहिने उत्तिसको काठ धादिङ र मकवानपुर जिल्लाबाट ल्याउने गरेको पनि उनले सुनाए ।

मादल लगायतका यी बाजाहरू बनाउन सहज नभएको पनि उनी बताउँछन् । उनका अनुसार मादल बनाउन प्रयोग हुने काठको घेरा ल्याएर इनामेल, चापडाको पालिस लगाउनुपर्छ । छालाको डोरी आफैंले तयार गर्नुपर्छ । रौं सहितको गोरु वा बाख्राको छाला किनेर ल्याउने, त्यसलाई खुर्कने, भिजाउने, सुकाउने र काटेर डोरी बनाउनुपर्छ ।

डोरी बनाउन मात्र होइन मादलमा डोरी हाल्न पनि उत्तिकै कठिन हुने उनी बताउँछन् । ‘मादलमा खरी राख्न पनि समस्या छ, खरीका लागि प्रयोग हुने किटले हात खान्छ’, परियारले भने । जीवन निर्वाह हुँदै आएकाले दुःखका बीच पनि उनीहरू मादल बनाउने पेशामा भने रमाइरहेका छन् ।


Source: Online Khabar
Comment As:

Comment (0)