•   Wednesday, 12 Jun, 2024

साइकल हराएको शहर

this
Generic placeholder image
  

२०८० कात्तिकको दोस्रो साता । कुनै समय दोलखाको जिल्ला शिक्षा अधिकारीको भूमिकामा काम गर्नुभएका माधव तिमल्सिनासँग झण्डै २० वर्षपछि चरिकोटमा भेट भयो । स्थायी घर दोलखाको मालु भए पनि अहिले अमेरिका बसाइँ जानुभएका माधव सर, सरकारले भर्खरै निर्णय गरेको गैरआवासीय नेपाली (एनआरएन) नागरिकता लिन सदरमुकाम चरिकोट आउनुभएको थियो ।

उहाँले पुराना दौंतरी र निकटसँग भेटघाटको लागि समय मिलाउनुभयो । भेटमा मेरा गुरु कृष्णबहादुर गौतमसँगै गोपाल न्यौपाने, गोविन्द मानन्धर, शम्भु गौतम, दीपक बस्नेत, केदार शिवाकोटी, सञ्जीव खड्का लगायत थियौं ।

माधव तिमल्सिना र गोपाल न्यौपाने कलेजका दौंतरी हुनुहुँदोरहेछ । झण्डै ४०-४५ वर्ष अघिको घटना, कलेज पढ्दाको समय, छुट्टीको एक दिन काठमाडौंको कुनै धार्मिक गन्तव्य साइकलमा जाँदा उहाँहरू दुर्घटनामा पर्नुभएछ ।

उकालो बाटो गोपाल न्यौपानेले सकी-नसकी अघि बढाएको साइकल कुनै विन्दुमा पुगेर दुर्घटना भयो । फूर्तिसाथ चढेर गएको साइकल फर्कंदा मिनीबसको छतमा राख्नु परेको र हात भाँचिएर घाइते भएका गोपाल न्यौपानेलाई ढाडस दिनुपरेको कहानी बडो रोचकसँग सुनाउनुभयो माधव सरले ।

मेरो साइकल कथा

माधव सरको साइकल कथा सुनेपछि मलाई पनि आफूले भोगेका साइकलका धेरै कथा याद आए ।

सायद म नौ कक्षातिर पढ्दै थिएँ । स्कुलका मेरा दौंतरी किरण श्रेष्ठ र मैले साइकल भाडामा लिएर चरिकोटको टुँडिखेलदेखि पशुपति डाँडासम्म पालैपालो चलाउँदै थियौं । हाम्रो उद्देश्य साइकलको सफर कसैलाई देखाउनुथियो । दुर्भाग्य मेरो पालोमा टुँडिखेल मुनिको जिल्ला प्रहरी कार्यालयको पर्खालमा साइकल ठोक्किएर तीनटुक्रा भइदियो ।

चिरञ्जीवी मास्के

परेन फसाद ! कसैलाई साइकलको सफर देखाउने उद्देश्यमा त तुषारापात भइनै गयो, टुक्रे साइकल जोड्न लागेको हर्जाना तिर्न आमाले ट्याङ्कामा राख्नुभएको पैसा सुटुक्क निकाल्नुपर्ने दुर्भाग्य समेत आइलाग्यो ।

साइकलको कथाले काठमाडौं कलेज पढ्न जाँदा समेत छोडेन । कथा २०४५÷४६ सालतिरको हो । त्यतिबेला अहिले जस्तो निजी कार मात्र हैन मोटरसाइकल समेत दुर्लभै थियो । सडकमा केही भाडाका ट्याक्सी र मिनीबस गुड्थे । नत्र धेरैको गन्तव्य सवारी साइकलै हो ।

काठमाडौं पढ्दा मेरो बसाइ मैतीदेवी थियो । मेरा सहकर्मी थिए दोलखाकै लादुकको साथी अर्जुन खड्का । उनी बानेश्वर हाइट आसपास बस्थे । नेपाल ल क्याम्पस पढ्दा म पनि यदाकदा दोलखाका उनै सहकर्मी अर्जुन खड्काको साइकलमा मैतीदेवीबाट भृकुटीमण्डपसम्मको सयर गर्थें । कहिले आफू पछाडि बसेर, कहिले उसलाई पछाडि राखेर । त्यतिबेला काठमाडौंको खुला सडकमा साइकलमा सफर गर्दा कति मज्जा हुन्थ्यो ! कलेज छुट्टी भएपछि साइकलको लस्कर भृकुटीमण्डपको सडकमा सल्बलाउँदा मनै आनन्दित ।

एक जना ब्रिटिश आर्मीको छोरी थिइन् हाम्रो सहकर्मी । घर र नाम याद छैन । उनीसँग गियरवाला साइकल थियो । एक दिन कलेज छुट्टी भएपछि अर्जुन र मैले उनको गियरवाला साइकल भन्दा अघि जाने कुरामा प्रतिस्पर्धा ग¥यौं । दुर्भाग्य हाम्रो साइकल उनको गियरवाला साइकललाई उछिनेर थोरै अघि बढ्नासाथ दुर्घटनामा पर्‍यो ।

उनले हामीलाई सडकबाट उठाएर ढाडस दिंदै भनिन्- यो मेरो गियरवाला साइकल हो । योसँग हिरो साइकलले प्रतिस्पर्धा गर्न सक्दैन ल ! उनको कुराले हामीलाई रातो–पिरो बनाइदियो । हुन त त्यतिबेलाको हिरो साइकल ‘हिरो’ नै थियो तर उनको गियरवाला साइकलको अगाडि ‘जिरो’ भइदियो ।

मसँग जोडिएको साइकल कथा निकै रोचक र रोमाञ्चक लाग्दछ अहिले सम्झँदा पनि । स्वास्थ्य र वातावरणको हिसाबले पनि त साइकल सफर निकै फलदायी थियो । अहिले पनि विश्वमा चीन, जापान, कोरिया लगायत धेरै देशले साइकल प्रयोगलाई प्राथमिकता दिंदै कार्बन उत्सर्जनमा कमी ल्याएको दाबी गरिरहेका छन् ।

नगरको साइकल लेन र गुरुहरूको साइकल सफर

पछिल्लो समय धुवाँ, धुलो र प्रदूषणले हैरान ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले आफ्नो नगरभित्र साइकल लेनको निर्माण गरेर साइकल यात्रा प्रमोसनको काम गर्नुभयो । अनि आरआर क्याम्पसका गुरुहरू डा. कुन्दन अर्याल, ऋषिकेश दाहाल, श्रीराम पौडेल लगायतले पनि केही समय कारलाई छोडेर साइकलमा सफर गर्ने अभियान सुरु गर्नुभयो ।

तर, न चिरीबाबु महर्जनको साइकल लेनको उपयोग हुनसक्यो न आरआर क्याम्पसका गुरुहरूको साइकल यात्रा अभियान धेरै समय टिक्न सक्यो । ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरीबाबुले जसरी नै काठमाडौं महानगरपालिका र भक्तपुरले समेत साइकल लेन निर्माण गरेर कडाइका साथ त्यसको उपयोग हुने वातावरण बनाए, आरआर क्याम्पसका गुरुहरूले जसरी नै सबै कलेज र स्कुलका गुरु तथा विद्यार्थीले कमसेकम स्कुल र कलेज जाने समयमा मात्र पनि साइकलको प्रयोग गरिदिए काठमाडौंका सडकहरूमा ३०-४० वर्ष अघि जस्तै साइकल सफर हेर्न पाइन्थ्यो कि ! अनि विश्वका प्रभावशाली मुलुकहरूमा जस्तै नेपालमा पनि साइकल सफरको अधिक प्रयोगले कार्बन उत्सर्जनमा कमी आउँथ्यो कि !

सरकारले प्रारम्भिक चरणमा कमसेकम उपत्यका भित्र मात्रै भए पनि साइकल लेनको निर्माण गरेर सहज र सुरक्षित ढंगले साइकल सफरको अवसर दिने हो भने धेरैले साइकलको उपयोग गर्नेथिए कि ! यसको प्रयोगले मानिसको शारीरिक स्फूर्तिमा समेत सहयोग पुग्नेथियो कि !

चीनको सडकमा साइकल सफर

मेरो साइकल कथा सुनिरहेका ध्रुव भाञ्जा (ध्रुव आचार्य) ले चीन पुगेर साइकल हुइँक्याएको स्मरण गरे । नेपाल–चीन हिमालयन फ्रेन्डसिप सोसाइटीको समन्वयमा झण्डै एक महिना चीनका विभिन्न शहरमा बिताएका ध्रुव भाञ्जालाई बेइजिङको तियानमेन स्क्वायर आसपास चारघण्टा साइकल दौडाएको सम्झनाले काउकुती लगाउँछ रे !

बाफ रे ! कति मज्जा, झण्डै दुई महिना अघिको स्मरण सुनाइरहँदा भाञ्जा फेदैदेखि जोशिंदै थिए । न यात्रुले अवरोध गर्ने चिन्ता, न अर्को सवारीले ठोक्ने पिरलो, उनले रौसिलो पारामा सुनाए– सफा साइकल लेनमा सरर्र… साइकल यात्रा !

मैले पनि चीनका विभिन्न शहरको भ्रमणको क्रममा देखें । हुन पनि गज्जबै छ चीनको साइकल सफरको कथा । चीनको त्यही शहरमा करोडौंको कार पनि हुइँकिएको छ, अनि केही थान हजारका नोटले किन्न पाइने र केही रुपैयाँ भाडामा लिने साइकल पनि त्यसैगरी हुइँकिएको छ ।

चीनमा साइकलको धेरै किस्साहरू सुन्न पाइन्छ । चीनको बेइजिङस्थित ग्रेटवाल भ्रमणको क्रममा मलाई हाम्रा पथप्रदर्शक डङ्की भन्दैथिए– चीनको झेजियाङ प्रान्तमा पर्ने हुझोउका स्थायीवासी हुन् पान डेमिङ । उनले २२ वर्षको उमेरमा १९३० बाट साइकल यात्रा सुरु गरेर आठ वर्षमा विश्वका ४० देशको भ्रमण पूरा गरे ।

विश्वमै पहिलो पटक पैदल र साइकलबाट पान डेमिङले विश्वका यति धेरै ठाउँको यात्रा पूरा गरेकोले पनि आफूहरू साइकलप्रति बढी नै मोहित हुने गरेको पथप्रदर्शक डङ्कीले सुनाए । पान डेमिङले साइकल यात्राबाट कम्बोडिया, थाइल्याण्ड (सियाम), मलेसिया, सिंगापुर, भारत, इराक, सिरिया, इजिप्ट, इटाली, फ्रान्स, बेलायत, संयुक्तराज्य अमेरिका, क्युबा, पानामा, न्युजिल्याण्ड, अष्ट्रेलिया, इन्डोनेशिया लगायत ४० देशको भ्रमण गरेका रहेछन् । सो क्रममा उनले २० भन्दा बढी देशका राष्ट्रप्रमुखसँग भेट गरेका रहेछन् ।

डा. रमेश आचार्य झण्डै २० वर्षदेखि चीनको उहानमा बस्दै आएका छन् । उनले सुनाए, चीनका ५० प्रतिशत बासिन्दाले छोटो दूरीको यात्राको लागि साइकलको प्रयोग गर्छन् रे ! साइकलको सफर सहज लाग्ने भएकोले आफूले पनि नजिकको यात्राको लागि साइकलकै प्रयोग गर्दै आएको बताए ।

उहानस्थित युच्याङ डिष्ट्रिकको लुज्यास्यान स्ट्रिटमा रहेको मार्सल प्यालेस (सुईफिउ) होटलका म्यानेजर झेङ जिङची दैनिक साइकलमै सफर गरेको भेटिन्थे । नेपाल–चीन हिमालयन फ्रेन्डसिप सोसाइटीको समन्वयमा झण्डै ६ महिनाअघि म, गोकर्ण भण्डारी र किरण दाहाल एउटा सेमिनारमा उहानको मार्सल प्यालेस (सुईफिउ) होटलमा करिब २१ दिन बसेका थियौं । सो अवधिमा प्रत्येक दिन हामी मर्निङवाक् निस्कँदा उनलाई साइकलबाट आफ्नो नियमित ड्युटीको लागि आउँदै गरेको भेट्थ्यौं । उनी भन्थे– साइकलको सफर निकै सहज र स्वस्थकर छ, म नियमित साइकलबाटै सफर गर्छु ।

झण्डै ३५ वर्षअघि काठमाडौंमा हिरो साइकल र गियरवाला साइकलमै विभेद भोगेको म बबुरोलाई चीनको साइकल सम्मानले गज्जबको खुशी दिलायो । चीनका शहरहरूमा साइकलमा सफर गर्ने मानिसलाई हेयको दृष्टिले हेर्ने कोही कसैको आशय नै हुन्न । कोही मजदुरी गर्ने चिनियाँहरू महँगा कारमा कार्यस्थलसम्म पुगेर काम गरिरहेको पनि भेटिन्छ, कोही ठूला चिनियाँ अफिसरहरू साइकलमा हुइँकिंदै कार्यालय गएको पनि देखिन्छ । मजदुरको कार सफर पनि सम्मानित, अफिसरको साइकल सफर पनि सम्मानित !

साइकल र साना स्कुटर टाइपका बाइकको छुट्टै सडक लेन बनाइएका छन् । ती लेनमा सयौं÷हजारौं चिनियाँ साइकलमा सहज र सम्मानित सफर साथ कार्यस्थल धाइरहेका हुन्छन् । अधिकांश चिनिया घरबाट साइकलमा निस्कन्छन् अनि मेट्रो ट्रेन स्टेशनमा पुगेपछि साइकललाई निश्चित ठाउँमा पार्किङ गरेर मेट्रो ट्रेन मार्फत कार्यस्थल जान्छन् । आफ्नो जागिर वा मजदुरी सकेपछि फेरि साइकलबाट मेट्रो ट्रेन स्टेशन– मेट्रो टे«नमा सफर र साइकलबाट घरसम्मको यात्रा गर्छन् ।

मेट्रो ट्रेन स्टेशन आसपास, सपिङ मल, पार्क लगायतका शहरी क्षेत्रको निश्चित ठाउँहरूमा सयौं साइकल पार्क गरिएको हुन्छ । ढुक्क के भने ती साइकलहरू कसैले चोरी गर्ने वा तोडफोड गरिदिने सम्भावनै छैन । कहीं कतै गल्तीले कुनै साइकल लडेको छ भने पनि यात्रुुहरूले सम्मानसाथ त्यसलाई उठाएर राखिदिन्छन् ।

अर्को गज्जब के भने कुनै एउटा विन्दुबाट साइकल भाडामा लिएर आफ्नो गन्तव्यसम्म पुग्यो, साइकललाई त्यही गन्तव्यमा छोडिदिए हुन्छ । पछि जुन कम्पनी या व्यवसायीले साइकल भाडामा दिएको छ उसैले त्यो साइकल लिएर जान्छ । जहाँबाट साइकल लिएको छ त्यहीं पु¥याउनुपर्ने टन्टा छैन ।

साइकलको सुरुवात

साइकलको कथा लेखिरहँदा मैले गुगलमा सर्च गरें र साइकलको सुरुवाती इतिहास हेरें । विश्वमा साइकलको सुरुवात १९औं शताब्दीमा युरोपबाट भएको रहेछ । जर्मनीका वैज्ञानिक कार्ल भोन डायसले आजभन्दा झण्डै २०० वर्ष अघि सन् १८१७ मा साइकलको निर्माण गरेको र १९औं शताब्दीबाट यसको प्रयोग भएको इतिहास रहेछ ।

साइकल आविष्कार भएको झण्डै १०० वर्षपछि सन् १९१० मा बेलायतबाट भारतमा ३५ हजार थान साइकल भित्रिएको र नेपालमा पनि त्यहीताका केही थान साइकल आएको अनुमान छ । नेपालमा पहिलो पटक साइकल प्रयोग गर्ने व्यक्ति नेपाली वैज्ञानिक गेहेन्द्रशमशेरका छोरा सुरशमशेर रहेको इतिहास भेटियो ।

१९औं शताब्दीमा सुरु भएको साइकलको प्रयोग २१औं शताब्दीको सुरुवातमा विश्वमा एक अर्बभन्दा बढी पुगेको थियो । यो संख्या कारको भन्दा धेरै गुणा बढी हो । विश्वमा पहिलो पटक साइकलको निर्माण भएको एक शताब्दीको अवधिमा १९औं शताब्दीको अन्त्यतिर चीनमा ५० करोड साइकल रहेको तथ्याङ्क छ ।

साइकलको इतिहास हेर्दा नेपाल, चीन र भारतले झण्डै–झण्डै एकै समयमा यसको प्रयोग गर्न थालेको पाइन्छ । हाम्रा छिमेकी दुई शक्तिशाली मुलुक चीन र भारतले प्रविधि लगायत हरेक क्षेत्रमा तीव्र विकास गरिरहेका छन् तर उनीहरूले साइकलको प्रयोगलाई सुरुवाती समयमा जसरी नै सम्मान र अवसर दिएका छन् । हाम्रो मुलुक भने प्रविधि लगायतको विकासमा धेरै पछि छ र पनि साइकलको प्रयोगलाई बेवास्ता गरिरहेको छ ।

००० ०००

एकपटक दोलखाकै पुष्कर शाहले साइकलबाट विश्व सफर गरेर चर्चा कमाए । अर्को पटक दोलखाकै अभिनय कार्कीले साइकलको सफरबाट नेपालका ७७ वटै जिल्ला घुमेर चर्चा कमाए । अरू केही नेपालीले पनि साइकलको सफरबाट विभिन्न उद्देश्य सहित विभिन्न जिल्ला घुमेको समाचार पढ्न पाइन्छ । साइकलबाट ७७ जिल्ला घुम्ने अभिनय कार्की अहिले साइकलबाट विश्वको यात्रा गर्ने तयारी गर्दैछन् ।

यी सबै साइकल कथासँग जोडिएका चमत्कारी रोमाञ्चक परिघटनाहरू हुन् । कमसेकम यी परिघटनाहरूले साइकल सफरको महत्वलाई झकझकाइरहेका हुन्छन् । रोटी–बेटी वा छिमेकी सम्बन्ध भन्दा अलिक माथि पुगेर नेपाल–चीन–भारत जोड्ने सिल्करोड साइकल सफर परिकल्पनालाई पनि यसले टेवा पुग्न सक्छ ।

अझ यसो भनौं– चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजनामा साइकल सफरको अवसर जोडिन सक्छ ।

तस्बिरः एआई जेनेरेटेड


Source: Online Khabar
Comment As:

Comment (0)