•   Wednesday, 19 Jun, 2024

प्रयोगशाला बनिरहेको विश्वविद्यालय र सामाजिक सञ्जालको बहस

this
Generic placeholder image
  

कुरा सुरु गरौं, सामाजिक सञ्जालको प्रसंगबाट । अहिले सामाजिक सञ्जाल समाजमा भइरहेका घटनाका बारेमा बहस गर्ने थलो बनेको छ । सानातिना घटनाले नै सामाजिक सञ्जाल तरंगित भइहाल्ने अवस्था अहिलेको यथार्थता हो । सामाजिक सञ्जालको संसारमा विषय र विचारको गहनता अनि त्यसको दूरगामी प्रभावको भन्दा पनि त्यसको लाइक, कमेन्ट, सेयर र हल्काफुल्का वाह्वाहीले बढी मूल्य पाउँछ ।

त्यो मूल्य हामीले नै दिएका हौं । हामी धेरै जना त्यसको मोलमोलाइमा सामेल छौं । बढी मूल्य पाउँदा खुशीले गद्गद् बनेका छौं । मूल्यको मूल्य खोज्न हामीलाई फुर्सद छैन । त्यसलाई तौलनतिर लाग्दासम्म अर्को विषयले हाम्रो सामाजिक सञ्जाल तातेर सेलाइसक्छ । केही क्षण हामी टाढा हुँदा त्यो नयाँ मसला सामाजिक सञ्जालका भित्तामा सजाउनबाट हामी वञ्चित हुन्छौं ।

सञ्जालरुपी बजारका अमूल्य कमेन्ट, लाइक र सेयर हामीबाट टाढा पुग्छ भनेर त्यसका पछाडि दौडिहाल्छौं । समाजका हरेक विषयलाई हामी फुत्कन दिंदैनौं । हरेक विषयप्रतिको हाम्रो चासो, चिन्ता, विज्ञता समानान्तर रूपमा कायम छ ।

यसलाई विश्वविद्यालयको एउटा सानो घटनालाई जोडेर हेरौं न । त्रिभुवन विश्वविद्यालयको मानविकी संकाय अन्तर्गतका नेपाली केन्द्रीय विभाग र अंग्रेजी केन्द्रीय विभागले स्नातकोत्तर तहमा भर्ना आवेदन खुला गरेसँगै त्यसबारेको टीकाटिप्पणीले सामाजिक सञ्जाल ततायो । यसका पक्ष र विपक्षका तमाम विचारहरूले सामाजिक सञ्जाल र मिडियामा विभिन्न आकार, रङ, शैली र ढंगमा स्थान पाए ।

विश्वविद्यालयको यस निर्णयसँगै सामाजिक सञ्जालमा छरपस्ट विचार र तिनमाथिका कमेन्ट अनि विश्वविद्यालय सन्दर्भमा केही समयदेखि भएका टीकाटिप्पणीका सन्दर्भमा केही उठेका, उठाइएका र नउठेका, नउठाइएका, उठाइनुपर्ने केही प्रश्नहरूको चर्चा गर्ने जमर्को गरिएको छ ।

सामाजिक सञ्जालमा विश्वविद्यालयको स्नातकोत्तर तहको भर्नाको पूर्वयोग्यताका सम्बन्धमा कुन स्तरमा टीकाटिप्पणी भएको छ ? विषय छनोटमा विश्वविद्यालयले दिएको स्वतन्त्रतालाई गहिराइमा नपुगी अझै शिष्टता समेतको ख्याल नगरी व्यक्तिगत गालीगलौजको अवस्थामा उत्रनुलाई के भन्ने ? जिम्मेवार प्राध्यापकहरू समेत हल्काफुल्का टिप्पणी गरी पक्ष–विपक्षमा खरो रूपमा सामाजिक सञ्जालमा छाती खोलेर प्रस्तुत हुनु ठिक हो ?

सामाजिक सञ्जालको केही दिनको बहसले यसको गहन समीक्षाका लागि पृष्ठभूमि निर्माण गर्दछ ? कि क्षणभरमै उठेर क्षणभरमै हराएका कैयौं सन्दर्भकै सूचीमा अर्को एक बुँदा थपिने मात्र हो कि ? त्रिभुवन विश्वविद्यायको विषय छनोटको यो सन्दर्भलाई फरक दुई दृष्टिकोणबाट हेर्ने कि ?

दृष्टिकोण एक

विश्वका उत्कृष्ट विश्वविद्यालयमा समेत फरक विषय र संकायमा सहजै अध्ययन गर्न पाउने अभ्यास पर्याप्त गरिएको अवस्थामा हामीले किन नगर्ने ? नेपालकै अन्य विश्वविद्यालयमा समेत फरक विषयगत पृष्ठभूमिबाट फरक विषयमा स्नातकोत्तर तहमा अध्ययन गर्ने व्यवस्था छ भने त्रिविले त्यो व्यवस्था गर्न नहुने ? त्रिविको मानविकी संकायकै अन्य कैयौं विषयमा जुनसुकै विषयमा स्नातक गरेकाले स्नातकोत्तर तहमा भर्ना हुन पाउने तर नेपाली र अंग्रेजी विषयमा किन नपाउने ?

त्रिविका अन्य संकायका केही विषयमा समेत यस खालको व्यवस्था भएको अवस्थामा मानविकीका यी दुई विषयमा किन नगर्ने ? नेपालको प्रमुख भाषा नेपाली र यसको साहित्यको अध्ययन गरी नेपाल र नेपालीको गौरवसँग जोडिएको भाषा अध्ययन गर्छु भन्दा उसलाई स्नातक अर्को विषय पढेकै भरमा नेपाली विषय अध्ययनको अवसरबाट किन वञ्चित गर्ने ? विश्वव्यापी रूपमा सशक्त बनेको अंग्रेजी भाषा अध्ययन गरी आफ्नो ज्ञानको दायरा बढाउँछु अनि आफ्नो कर्मको सम्भावनालाई विश्वव्यापी बनाउँछु भन्दा किन योग्यताको तगारो तेस्र्याउने ?

सम्बन्धित संकायका प्राध्यापकहरू पढाउन तयार हुँदाहुँदै फरक विषयबाट सम्बन्धित विषय अध्ययन गर्न आउँछ भने विरोध किन गर्नु ? के केही संख्यामा अन्य विषयको पृष्ठभूमिबाट विद्यार्थी ती विषयमा भर्ना भई अध्ययन गर्दैमा ती विषयको गुणस्तर खस्किइहाल्छ ? के यस्तो व्यवस्था हुनासाथै विविध संकाय र विषयका बीचमा रहेको सीमारेखा मेटिन्छ ? यी प्रश्नमा केन्द्रित हुँदै गर्दा तपाईंलाई के लाग्यो ?

दृष्टिकोण दुई

स्नातकोत्तर तह विशिष्टीकरणको तह हो भने स्नातक तहमा उक्त विषय अध्ययन नगरेको व्यक्तिले कसरी अध्ययन गर्न सक्छ ? स्नातक तहमा ती विषयमा अध्ययन गरेर सोही विषयको पृष्ठभूमिबाट आएका विद्यार्थीले सिकेका ज्ञान स्नातकोत्तर तहमै गएर सिक्न सकिन्छ भने स्नातक तहको अध्ययनको आवश्यकता किन ? स्नातक तह नै हटाइदिएर त्यसको व्यय स्नातकोत्तर तहमै गरे हुँदैन ?

मानसिक क्षमतामा आएको परिपक्वता र हरेक तल्लो तहमा अध्ययनको अनुभवलाई जग मान्दै त्यसैका आधारमा उक्त विषयमा माथिल्लो तहमा विषयको कठिनाइस्तर बढ्दै जाने गरी पाठ्यक्रम निर्माण गरिने सर्वमान्य सिद्धान्त र अभ्यास गलत हो ? स्नातकोत्तर तह रहरले पढ्ने तह हो कि केही पूर्वयोग्यताका साथ सम्बन्धित विषयमा विशिष्टीकरण हासिल गर्ने तह हो ? जुनसुकै विषयमा स्नातक गरेका विद्यार्थीले अन्य विषयका विद्यार्थीसँगै बसेर चार सेमेस्टरमा आफूमा सम्बन्धित तहको पाठ्यक्रमले राखेको अपेक्षा अनुसारको दक्षता विकास गर्न सक्छन् ?

सम्बन्धित विभागले सबै विद्यार्थीलाई पाठ्यक्रमले राखेका उद्देश्य अनुसारको सक्षमता विकास गर्न सक्छ कि यति जना विद्यार्थी फरक विषयबाट आएकाले यिनीहरूमा त्यस्तो विशिष्टीकरण विकास हुनसकेन भन्ने जवाफ दिन्छ ? समान विषयगत पृष्ठभूमिबाट आएका विद्यार्थी र फरक विषयगत पृष्ठभूमिबाट आएका विद्यार्थीको उपलब्धिका बीचमा निकै ठूलो फरकपना आएमा के गर्ने ? यी प्रश्नले तपाईंको मनमा कस्तो भाव जगायो ?

कुन सही ?

पहिलो दृष्टिकोणबाट हेर्दा निर्णय ठिकै हो र दोस्रोबाट हेर्दा चाहिं निर्णय गलत हो भन्ने लाग्ला, होइन ? दुई समूहमा विभक्त यी प्रश्नहरू दुई कोणबाट गरिएका छन् । प्रश्न त आखिर जसरी पनि गर्न सकिने रहेछ नि ? र उत्तर पनि । त्यसो भए यी दुईमध्ये कुनचाहिं ठिक हो त ? यसभन्दा अगाडि यी प्रश्नहरूबारे विचार गरौं :

विश्वविद्यालयले यो निर्णय किन गरेको हो ? यो निर्णय गर्नुअघि विश्वविद्यालयले पर्याप्त अध्ययन, अनुसन्धान गरेको थियो ? यस्तो व्यवस्था भएका विषयका विगतदेखिका राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवहरूका आधारमा यो निर्णय गरिएको हो ? विश्वविद्यालयले अन्य विषयको पृष्ठभूमिबाट आउने विद्यार्थीका लागि पूर्वयोग्यता (प्रवेश) परीक्षाको कस्तो व्यवस्था गर्दछ ? केही समयको ब्रिज कोर्स पढाएर मात्रै सम्बन्धित विषयका कक्षामा राखिन्छ कि नपढाइकन ?

फरक विषयगत पृष्ठभूमिका विद्यार्थीलाई स्नातकोत्तरको चार सेमेस्टरमा स्नातक तहमा सोही विषय पढेका विद्यार्थीसरह बनाउन के कार्यक्रम निर्माण गरिएको छ ? निर्माण गर्ने योजना छ ? सम्बन्धित विषयको विषयगत क्षमताका दृष्टिले ठूलो भिन्नता भएका विद्यार्थीलाई सँगै राखेर पढाइन्छ कि भिन्दै राखेर ? रहरले पढ्न चाहनेलाई र विशिष्टीकरण गर्न चाहनेलाई एउटै विश्वविद्यालय, एउटै कक्षा र एउटै कार्यक्रमको भर पर्नु ठीक हो ?

यी प्रश्नहरूको उत्तर कसरी आउँछ त्यसपछि मात्र विश्वविद्यालयले गरेको निर्णय सही वा गलत के छ भनेर भन्न सकिन्छ । के सामाजिक सञ्जालमा व्यक्त गरिएका अनि सञ्चारमाध्यमका समाचारमा यो–यी विषयको गहिराइमा पुगेर उत्तर खोज्ने प्रयास गरिएको छ ? के आधारमा र के कार्यक्रमका साथ यो निर्णय भएको होला भन्नेतर्फ खोजी हामीले गर्यौं ? यी प्रश्नहरूको उत्तर नपाई उक्त निर्णय ठिक वा बेठिक कसरी भन्ने ? यी विषयमा गम्भीर नबनी हामीले रङ्गाएका सामाजिक सञ्जालका भित्तालाई हेरेर बनेका गलत धारणा र त्यसले पार्ने असरको जिम्मेवारी कसरले लिने ?

गरिनुपर्ने प्रश्न

विश्वविद्यालयका सन्दर्भमा स्नातकोत्तर तहमा भर्नाको यो सन्दर्भ बाहेक पनि उठान गर्नुपर्ने अन्य धेरै महत्वपूर्ण विषय छन् । केही समयदेखि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा केही विषय उठेका, उठाइएका छन् । उठाउनुपर्ने केही गहन विषय छुटेका छन् अनि नगर्नुपर्ने कोणबाट विश्लेषण गरिएका छन् । गहिराइमा पुग्नुपर्ने विषयलाई चिथोरेर मात्र छाडिएको छ । समाचारपत्र अनि सामाजिक सञ्जालमा व्यक्त गरिएका विचार कत्तिको जिम्मेवारपूर्ण र गहनतापूर्वक उठान गरिएको होला ?

विश्वविद्यालयमा विद्यार्थीको अभाव, राजनीतीकरण, प्राध्यापक तथा कर्मचारीको जवाफदेही, आर्थिक पारदर्शिता विषयक सवालहरूसँग हल्काफुल्का रूपमा टिप्पणीले सुधारका लागि कि विश्वविद्यालयको साख गिराउन भूमिका खेल्यो होला ? सामाजिक सञ्जालबाटै अतिशय प्रशंसा र अतिशय विरोध गर्न अभ्यस्त हामीले व्यक्त गरेका अतिवादी विचार विश्वविद्यालयलाई बदनाम गराउन कति जिम्मेवार होला ? हाम्रो जिम्मेवारी सुधार कि बदनाम ? सामाजिक सञ्जालमा पोखिनुअघि हामीले यी प्रश्नबारे विचार गर्यौं होला ?

उच्च शिक्षा सबैले पढ्ने कि पढ्न चाहनेले मात्र पढ्ने ? राज्यले प्राज्ञिक विषयका डिग्रीलाई महत्व दिने कि प्राविधिक विषयको अध्ययन अनि तालिमलाई ? विश्वव्यापीकरणको सन्दर्भमा विदेशी विश्वविद्यालयमा पढ्न जानु अत्यन्त नराम्रो कि स्वाभाविक ? यस्ता विषयमा राज्यको नीति र धारणा के हो ? यी प्रश्नमा अनुत्तरित हुँदा यीसँग जोडिएका कैयौं प्रश्न पनि अनुत्तरित नै रहन्छन् । प्रधानमन्त्री र शिक्षामन्त्री विश्वविद्यालयको नेतृत्वमा रहनु राजनीतीकरण हो वा होइन ? उक्त व्यवस्था नहटेसम्म विश्वविद्यालयको राजनीतिक प्रभाव अन्त्यको कल्पना गर्न सकिएला ? विश्वविद्यालय प्राज्ञिक व्यक्तिको नेतृत्वमा कहिले जाला ? कुन मोडेल हाम्रा लागि ठीक होला ? विश्वविद्यालयको नेतृत्व हाँक्ने व्यक्तिको छनोट विश्वविद्यालयमै जीवन व्यतीत गरेको, विश्वविद्यालयको हित चाहने सक्षम प्राध्यापकको टोलीले गर्ला कि राजनीतिक र प्रशासनिक नेतृत्वले ?

श्वविद्यालयका लागि योग्य र दक्ष प्राध्यापक र कर्मचारी छनोटका लागि सेवा आयोगको नेतृत्वकर्ता कसले छनोट गर्ने ? सेवा आयोग विश्वविद्यालयपिच्छे बनाउने कि संयुक्त ? विश्वविद्यालयकै मातहतमै राखेर नै सुधार गर्न सकिएला कि यहाँबाट बाहिर निकाल्दा सुधार होला ? यी प्रश्नहरूतर्फ हामी कति केन्द्रित हुन सक्यौं होला ? के यी प्रश्नहरूतर्फ गम्भीर नभई विश्वविद्यालय नयाँ ढंगले अगाडि बढ्न सक्ला र ? विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू के गरिरहेका छन् ? अनुसन्धानका लागि प्राध्यापकहरूलाई सीप क्षमता विकासको अवसर कत्तिको छ ? बजेट पर्याप्त छ ? गरिएका अनुसन्धानको उपयोग कस्तो छ ?

प्राध्यापकहरूको अनुसन्धानमा संलग्नतालाई जाँच्ने कसी कस्तो छ ? यसबारे सम्बन्धित पक्षको चासो, चिन्ता र जिम्मेवारीपन कत्तिको छ ? राजनीतिक दलका आडमा गरिने तालाबन्दी र हुलहुज्जतका बीचमा गुणस्तर कसरी कायम हुन्छ ? विश्वविद्यालय सञ्चालनका लागि पर्याप्त बजेटको व्यवस्था छ ? आर्थिक कार्यप्रणाली कस्तो छ ? सेवा–सुविधा समसामयिक छ ? विश्वविद्यालयका लागि आवश्यक खर्च राज्यले समयमै उपलब्ध गराएको छ ? प्राध्यापक तथा कर्मचारीको मनोबल उच्च छ ? विना डर, त्रास काम गर्ने वातावरण छ ? सामाजिक सञ्जालमा सायदै उठ्ने तर उठाइनुपर्ने गम्भीर प्रश्नहरू हुन् यी ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित यी र यस्तै तमाम प्रश्नहरूको उत्तर खोजी नहुँदासम्म विश्वविद्यालयको सुधारको आशा गर्नु एकाथरी रोगको अर्कैथरी उपचार गरेर बिरामी निको होला भनी आश गरेर बस्नु मात्र हो ।

विश्वविद्यालय सुधारको पहिलो कदम राजनीतिक नेतृत्वबाट विश्वविद्यालयलाई प्राज्ञिक नेतृत्वमा लैजान सक्नुपर्दछ । यसका लागि राजनीतिक दल तयार हुनुपर्छ । राज्य तयार हुनुपर्दछ । सबैभन्दा बढी प्राध्यापकहरू तयार हुनुपर्दछ ।

प्राध्यापकहरू पदका लागि दलको ढोकामा जान बन्द गर्नुपर्दछ । आफ्नो क्षमतामा विश्वास गर्न सक्नुपर्दछ । नीतिनिर्माण तथा राज्य सञ्चालनका लागि आवश्यक सल्लाह लिन राजनीतिज्ञहरू प्राध्यापकको ढोका घचघच्याउने परिस्थिति बनाउनुपर्दछ । यसका लागि प्राध्यापक पहिले प्राध्यापक बन्नुपर्छ ।

यी समस्याका बीचमा प्राध्यापकले कसरी काम गर्ने त ? पहिले विद्यमान व्यवस्थापकीय, आर्थिक र राजनीतीकरणको समस्या समाधान प्राध्यापकभन्दा पनि राजनीतिक स्तरबाट हुनुपर्छ । अनि ती समस्याको अन्त्य भएर काम गर्ने वातावरण भएपछि पनि विश्वविद्यालय सुधार भएन भने त्यसको जिम्मा प्राध्यापकले लिनुपर्छ । कि आफूले सुधार गर्न सक्नुपर्दछ नसके सुधार गर्नेका लागि ठाउँ छाडिदिनुपर्छ ।

अहिले भइरहेको कर्मले एउटाले अर्कोलाई दोष दिएर सामाजिक सञ्जालमा हिलो छ्यापाछ्याप गरेर जगहँसाउनु बाहेक केही भएको छैन । भइरहेको यही छ । यसमा तपाईं, म, हामी सबै दोषी छौं । भाग कसैको ठूलो वा सानो होला । सबै सुध्रियौं भने विश्वविद्यालय सुध्रिन्छ । विश्वविद्यालय नसुध्रेसम्म राज्य सुध्रँदैन । सुधार कामबाट हुन्छ न कि बोलीबाट । गर्नेले आजैबाट सुरु गर्छ नगर्नेले भन्छ भोलिबाट । भोलि कहिल्यै भेटिंदैन । हामीले परिवर्तन र समृद्धिको भोलि आजसम्म भेट्टाउन सकेका छैनौं ।

अन्त्यमा, सामाजिक सञ्जाल विचारबाट सिर्जित साधन हुन् । यिनका महत्व, सीमा र बेफाइदा सबै छन् । कुनलाई कसरी उपयोग गर्ने भन्ने प्रयोगकर्तामा भर पर्दछ । गम्भीर विषयमा गरिएका हल्का टिप्पणीले समाधान निकाल्दैन । गम्भीर विषयलाई मजाक बनाएर भाइरल हुनु र हल्काफुल्का मजाकका विषयलाई भाइरल बनाएर अतिशय महत्व दिनु दुवै घातक हुन् । जसमा हामी रमाइरहेका छौं । चर्को बहस हामीलाई मन पर्छ । तर कर्मले मात्रै अवस्था बदलिन्छ । अवस्था बदल्ने गहन, सार्थक र अर्थपूर्ण विचार गहन अनुसन्धानबाट विश्वविद्यालयले निकाल्छ । निकाल्नुपर्छ । निकाल्न सक्नुपर्छ । यसमा विश्वविद्यालय गम्भीर हुनैपर्छ ।

विश्वविद्यालयलाई पनि हल्का र मजाकको विषय भित्र र बाहिर कतैबाट पनि बनाइनुहुन्न । सबैभन्दा पहिले राज्यले शिक्षाको महत्व र विश्वविद्यालयलाई चिन्न सक्नुपर्दछ । राज्यको नेतृत्व गर्नेले विश्वविद्यालयलाई प्रयोगशाला बनाएर चलाउन बन्द गर्नुपर्दछ । विश्वविद्यालयले दिएको चिन्तन र दर्शनबाट राज्यलाई अगाडि बढाउनुपर्दछ ।

(लेखक त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।)


Source: Online Khabar
Comment As:

Comment (0)