•   Wednesday, 12 Jun, 2024

सरकारले सुरक्षा दिन नसकेर रोकिएको मिस नेपालको त्यो ग्रान्ड फिनाले

this
Generic placeholder image
  

मिस नेपालको अहिले जे ब्रान्ड बनेको छ, त्यो एकै वर्षमा सजिलै बनेको होइन । त्यसमा धेरैको मिहिनेत परेको छ । अहिले यो नेपालको एउटा प्रतिष्ठित ब्रान्ड बनिसकेको छ । त्यसमा हाम्रो टिम र मैले सधैं गर्व गर्छौं । म त भन्छु– राष्ट्रले नै गर्व गर्नुपर्छ । अल्पविकसित एवं पछाडि परेको मुलुक नेपाललाई विभिन्न प्रतिकूलताका बाबजुद अन्तर्राष्ट्रियस्तरमा चिनाउने एउटा राम्रो प्लेटफर्म बनेको छ, मिस नेपाल ।

मिस नेपाल, मिस युनिभर्स वा मिस अर्थ जहाँ पुगे पनि नेपाली सुन्दरीको आफ्नो परिचय गौण बनिदिन्छ । उनीहरू नेपाली प्रतिस्पर्धी बन्छन् । त्यहाँ शृङ्खला खतिवडा वा अनुष्का श्रेष्ठ होइन, नेपाल भनेर परिचय दिइन्छ । नेपाली सुन्दरीले मिस वर्ल्डको ताज पहिरिएका छैनन्, त्यो बेग्लै कुरा हो । तर, विश्व सुन्दरी प्रतियोगितामा मिस नेपालहरू पनि पटक-पटक उत्कृष्ट १० भित्र परेका छन् । विभिन्न अवार्ड पनि जितिसकेका छन् ।

पत्रकार र शुभेच्छुकहरूले मलाई बारम्बार एउटै प्रश्न सोधिरहन्छन् । २९ वर्षमा पनि नेपालका कोही सुन्दरी किन मिस वर्ल्ड बन्न सकेनन् ? के नेपाली सुन्दरीहरू मिस वर्ल्डका लागि योग्य थिएनन् ?

हाम्रो लक्ष्य त्यही हो । हामीले जिम्मेवार ढङ्गले कोसिस गर्ने हो । त्यो गरिरहेका छौं । बर्सेनि मिस नेपाल प्रतियोगिताको स्तरोन्नति भइरहेकै छ । अरुको भन्दा हाम्रा प्रतियोगिता कुनै पनि दृष्टिबाट कम छैनन् । अन्तर्राष्ट्रियस्तरका प्रशिक्षक ल्याएर प्रशिक्षित गरेकै छौं । मिस वर्ल्ड जित्ने कुरा भाग्यमा पनि भर पर्छ, सायद ।

हामीले फिलिपिन्सबाट विश्वस्तरमै नाम कमाएका प्रशिक्षक मगाउने गरेका छौं । फिलिपिन्समा सुन्दरी प्रतियोगिता राम्रो संस्कृति बनिसकेको छ । यसलाई व्यक्तित्व विकासको उत्कृष्ट माध्यम मान्ने गरिन्छ । त्यसैले फिलिपिन्समा सुन्दरी प्रतियोगिताको माहौल छ भन्दा पनि हुन्छ । त्यहाँबाट मिस वर्ल्डसमेत भइसकेका छन् ।

त्यसो त विश्वस्तरमै सुन्दरी छनोटका मान्यताहरू परिवर्तन भइरहेका छन् । तपाईंहाम्रै बुझाइमा सुन्दरी हुनु भनेको गोरी हुनु हो भन्ने थियो । ठूला र सम्पन्न देशका सुन्दरी मात्र मिस वर्ल्ड हुन्छन् भनिन्थ्यो । सुन्दरी प्रतियोगिताले रङ्गभेदलाई बढावा दिएको बुझाइ विश्वभरै रहेछ । त्यसलाई कम गर्न अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा बिस्तारै काला जातिका सुन्दरी पनि देखिन थाले ।

अहिले त हरेकपटक टपटेनभित्रै कालो वर्णका सुन्दरी पनि पर्ने गरेका छन् । सन् २०१९ को मिस वर्ल्डको जमैकाकी टोनी एन सिंहले जितिन् । उनी भारतीय आमा र जमैकन बुकाकी छोरी हुन् । उनी २०१९ मा नेपाल पनि आएकी थिइन् । अब सुन्दरता गोरोपनमा हैन, व्यक्तित्व र ट्यालेन्टमा छ भन्ने कुराले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ । गरिब र पछि परेका भनिएका देशका अश्वेत सुन्दरी पनि मिस वर्ल्ड भएका छन् । त्यसले पनि सुन्दरी प्रतियोगितामा परिवर्तन देखाउँछ ।

मिस नेपालका प्रस्तुति निराशाजनक छैनन् । हामी उत्साहित नै छौं । आशा गर्छौं कि चाँडै नै नेपाली सुन्दरीले पनि मिस वर्ल्डको ताज पहिरिनेछन् । त्यो दिन अब धेरै टाढा छैन भन्ने लाग्छ ।

आजको दिनमा मिस नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनुको उद्देश्य विशुद्ध रूपमा नेपाललाई विश्वमाझ चिनाउनु नै हो । मिस वर्ल्ड, मिस युनिभर्स वा मिस अर्थ जहाँ भाग लिए पनि नेपाली सुन्दरीले ४-५ मिनेटको भिडियो प्रसारण गर्न पाउँछन् । मूलतः ती भिडियोमा देश चिनाउने सामग्री समेटिएको हुन्छ । मिस वर्ल्ड प्रतियोगिताको प्रत्यक्ष प्रसारणले ती भिडियो विश्वभर फैलाउँछ । मिस नेपाल शृङ्खला खतिवडा (२०१८) र अनुष्का श्रेष्ठ (२०१९)ले तिनै भिडियोका आधारमा मल्टिमिडिया अवार्ड जितेका हुन् ।

व्यक्तित्व र ट्यालेन्ट सबैको एउटै विषयमा हुँदैन । कसैको ट्यालेन्ट गाउनुमा छ भने कसैको नृत्यमा होला । मिस वर्ल्डको अन्तिम चरणका पाँच अवार्डमध्ये नेपालले तीनवटा अवार्ड जितिसकेको छ । सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठले ब्युटी विथ प्रोपस, मल्टी मिडिया र हेड टू हेड च्यालेन्ज अवार्ड जितिन् । उनले बेलायती सांसदसँग अन्तर्क्रियासमेत गरिन् । त्यसले नेपाली सुन्दरी कोहीभन्दा कम छैनन् भन्ने देखाउँछ । अनुष्का टप १२ सम्म पुग्न सकिन् तर ताज जित्न सकिनन् । त्यसलाई मैले नेपालको दुर्भाग्य भन्ने गरेको छु ।

सन् २०१८ की मिस नेपाल शृङ्खला खतिवडाले पनि ब्युटी विथ प्रोपस र मल्टिमिडिया अवार्ड जितेकी थिइन् । सन् २०१३ की मिस नेपाल इशानी श्रेष्ठले पनि ब्युटी विथ प्रोपस अवार्ड जितेकी थिइन् । नेपालले बेस्ट गाउन र ट्यालेन्ट अवार्ड जित्न नसक्दा मिस वर्ल्डको ताज पहिरिने शौभाग्य पाउन सकेन ।

हामीले मिस नेपाल प्रतियोगितालाई पनि समयानुकूल परिवर्तन गर्दै ल्याएका छौं । कुनै समय थियो, महिला अधिकारकर्मी र कम्युनिस्ट पार्टीहरू सुन्दरी प्रतियोगिताको नाम सुन्नासाथ विरोधमा उत्रिन्थे । उनीहरूको आरोप थियो– सुन्दरताको नाममा महिलालाई मञ्चमा उतारेर नङ्ग्याइयो । संस्कृतिमाथि हमला गरे । चुरोट र रक्सी प्रायोजक बनाएर तिनकै विज्ञापनमा लगाए । महिलालाई उपभोग्य वस्तु बनाइयो । काठमाडौंका ५-१० जनाबाट छानेर कोही नेपाल सुन्दरी हुने हो र ?

समयक्रममा ती सबै आरोप आफैं मत्थर भएका छन् । हामीले सुन्दरी प्रतियोगितालाई आरोप लगाइएजस्तो महिलालाई नङ्ग्याउने वा उपभोग्य वस्तु बनाउने कुनै काम गरेका छैनौं । एकाधपटक बियर कम्पनी प्रायोजक भएबाहेक चुरोट र रक्सीलाई न प्रायोजक बनाएका छौं, न त मिस नेपाललाई त्यस्ता कम्पनीको विज्ञापनमा लगाइएको छ । अहिले पनि थुप्रै चुरोट र रक्सी कम्पनीले प्रायोजकका लागि आग्रह गर्छन् तर हामीले त्यसलाई नीतिगत रूपमै अस्वीकार गरेका छौं ।

देशका सातवटै प्रदेशका सातशहरमा अडिसन लिएर प्रतियोगी छनोट गर्छौं । त्यसले काठमाडौं केन्द्रित भयो भन्ने आरोपलाई खण्डन गर्छ । मिस नेपालका कुनै पनि स्टेज प्रस्तुतिमा छोटा लुगा लगाउनुपर्ने कुनै राउन्ड छैन । सहभागीले आफ्नै मौलिक संस्कृति झल्काउने, देश सुहाउँदो वेशभूषा लगाएर प्रस्तुति गर्न सक्छन् ।

सारी नेपाली पोशाक हो वा होइन, मलाई थाहा छैन । हामीले ढाकाका पहिरनमा सुन्दरीलाई उतारेर नेपालीपन दिन खोजेका छौं । स्वीमिङ कस्टम र बिकिनी राउन्ड हामीले सुरुदेखि नै राखेनौँ । त्यसले महिलालाई नङ्ग्याइयो भन्ने आरोप पनि खण्डन गर्छ । बरु, मिस युनिभर्सले गतवर्ष प्रतियोगी छनोट गर्दा सहभागीलाई स्वीमिङ कस्टममा उतारेको थियो । एपी वान टीभीबाट सो कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो । तर, मैले एउटा पनि विरोधको आवाज सुनिनँ । त्यसले नेपाली समाज खुला र उदार हुँदै गएको महसुस भयो ।

मेरो विचारमा वामपन्थी पार्टी र महिलावादीको मिस नेपाललाई हेर्ने दृष्टिकोणमा पनि पक्कै परिवर्तन आएको छ । सन् २०१८ की मिस नेपाल शृङ्खला खतिवडाका बुवाआमा दुवै वामपन्थी नेता हुन् । उनीहरूले छोरीको स्वतन्त्रताको सम्मान गरेर प्रतियोगितामा भाग लिन प्रोत्साहित गरे । आमा मनु सिग्देल, जो बागमती प्रदेशकी सांसद पनि भइन्, उनी आफैं हिडन ट्रेजरकै अफिसमा आएकी थिइन् । बुवा विरोध खतिवडा, जो पछि स्वास्थ्यमन्त्रीसमेत बने, उनी पनि मिस नेपाल प्रतियोगिताको फाइनल कार्यक्रम हेर्न आएका थिए । यसले पनि सुन्दरी प्रतियोगिताप्रतिको धारणा बिस्तारै परिवर्तन भएको पुष्टि गर्छ ।

हिडेन ट्रेजरको सुन्दरी प्रतियोगितासम्बन्धी दर्शन पनि बिस्तारै परिवर्तन भइरहेको छ । वास्तवमा हाम्रो उद्देश्य हरेक वर्ष मिस नेपाल बनाउने होइन । यसको उद्देश्य त सहभागी युवालाई सक्षम बनाउनु हो । त्यस्तो व्यक्तित्व विकास गर्ने हो, जसले सक्षम, सकारात्मक सोंचको रोलमोडल बनाउने हो । आत्मनिर्भर भई आफ्नो खुट्टामा उभिएर जस्तोसुकै परिस्थितिलाई सामना गर्न सक्ने सशक्तीकरण हाम्रो उद्देश्य हो ।

प्रतियोगिता भनिसकेपछि एक न एक जनाले अवश्य उपाधि जित्छ । ताज पहिरिन्छ र एक वर्षका लागि लैजान्छ । हामी चाहन्छौं, मिस नेपालका हरेक सहभागीले जीवनभर पहिरिने ताज लैजाऊन् । समाजको रोल मोडल भई क्राउन अफ लाइफ लगाऊन् । सुन्दरी प्रतियोगितामा दिइने ६ हप्ते प्रशिक्षणको मूल उद्देश्य पनि त्यही हो ।

सुरुका वर्षहरूमा सुन्दरी प्रतियोगितामा भाग लिने युवतीहरू साथीमार्फत, आमाबुवालाई नभनेरै फारम भर्न आउँथे । यसरी नकारात्मक हल्ला फैलाइयो कि सुन्दरी प्रतियोगितामा भाग लिनुलाई विकृतिका रूपमा व्याख्या गरियो । तर, आज समय फेरिएको छ । अहिले धेरैका अभिभावक आफैंले छोरीलाई सहभागी हुन प्रोत्साहित गर्छन् । हिडेन ट्रेजरले मिस नेपाल प्रतियोगिताको फारममै बुवाआमा वा अभिभावकको हस्ताक्षर राखेको छ ।

सुन्दरी प्रतियोगितामा भाग लिएर आफ्नी छोरीले के सिक्दैछन् ? बुवाआमा आफैं प्रशिक्षणमा बसेर हेर्न र सुन्न सक्छन् । हामीले अभिभावकको आशीर्वाद लिने त्यस्ता कार्यक्रम पनि जोड्ने गरेका छौं । सहभागीका आमाबुवाले ‘हाम्री छोरी तपाईंहरूको पनि छोरी हो, ख्याल गरिदिनुहोला’ भन्छन् । मिस नेपालका बुवाआमा त झन् एक वर्ष हाम्रोभन्दा तपाईंकै छोरी हो भन्छन् । त्यसले हामीलाई थप जिम्मेवारीबोध गराइरहेको हुन्छ ।

मिस नेपाल हुनुको अर्थ बाहिर देखिएजस्तो तडकभडक होइन । उसले ठूलो सामाजिक उत्तरदायित्व वहन गरेको हुन्छ । सामाजिक प्रोजेक्टमा संलग्न हुन्छ । एउटा रोल मोडलका रूपमा आफूलाई उभ्याउँछ, चिनाउँछ । नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा परिचय गराउँछ । राष्ट्रको सद्भावना दूत बन्छ ।

यति धेरै जिम्मेवारी पूरा गर्न प्रायोजकका लागि पनि केही न केही त गर्नैपर्ने हुन्छ । तर, हामीले व्यावसायिक प्रयोजनका लागि मिस नेपाललाई पठाउँदैनौं । स्तन क्यान्सर, धुमपानविरुद्धका अभियान, पर्यावरणको संरक्षण, शिक्षा र स्वास्थ्यजस्ता सामाजिक उत्तरदायित्वसँग जोडिएका प्रोजेक्टमा उनीहरू जोडिन्छन् । प्रायोजकका महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन्छन् ।

मिस नेपालको ताज पहिरिइसकेपछि त्यसका सर्त र अनुशासन पनि पालना गर्नुपर्ने हुन्छ । त्यो नगरे ताज खोसिन पनि सक्छ । सन् १९९८ मा मिस नेपाल ज्योति प्रधान मिस वर्ल्ड प्रतियोगितामा भाग लिन बेलायत गइन् । नेपालको प्रतिनिधित्व गर्दै उनी सहभागी पनि भइन् । तर, कार्यक्रम सकिएपछि स्वदेश फर्किनन् । मिस वर्ल्डमा भाग लिन गएकी सुन्दरी त्यतै लुकेर बसिन् । हामीले अनेक सम्पर्कसूत्रबाट उनलाई खोज्ने कोसिस गर्‍यौं । तर, उनी सम्पर्कमा आइनन् । त्यो मिस नेपालको मूल्य–मान्यता र अनुशासनविपरीतको काम थियो । तत्कालै उनको ताज खोसियो ।

सन् २०१४ मा मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठको पनि ताज खोस्नुपरेको थियो । उनले सर्तविपरीत हिडेन ट्रेजरलाई नसोधेरै अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा भाग लिएको खुल्यो । उनीसँग सोधपुछ गरियो । कमजोरी स्वीकारेको भए सचेत मात्र गराइन्थ्यो होला । उनले ‘भाग लिनु मेरो खुसी’ भन्ने प्रस्टीकरण दिइन् । उनको पनि ताज खोसियो ।

रोल मोडल बनेर हिंड्नुपर्दा पक्कै पनि मिस नेपालले धेरै कुरा मेन्टेन गर्नुपर्ने हुन्छ । त्यसलाई ख्याल गर्दै हामीले प्रायोजक खोजेका हुन्छौं । सार्वजनिक यातायातमा हिंड्न नपरोस् भनेर सवारी साधनको व्यवस्था गरेका हुन्छौं ।

अफिसियल प्रोग्राममा विशिष्ट व्यवस्था गरिएको हुन्छ । ड्रेस डिजाइनर र कस्मेटिक सामानका लागि प्रायोजक खोजिदिन्छौं । मिस नेपालले हाम्रा लागि केही गर्नु पर्दैन । आफ्नो व्यवसाय गर्न उनीहरू स्वतन्त्र छन् । हाम्रो अपेक्षा भनेको मिस नेपालले समाजका लागि केही विशेष काम गरुन् भन्ने मात्र हो । प्रतियोगितामा भाग लिंदै हिडेन ट्रेजरसँगको सर्तबमोजिम समाजको रोलमोडल बनिदिऊन् । बस्, हामीले खोजेको त्यत्ति हो ।

मिस नेपालको प्रशिक्षणमा म सुरुदेखि नै एउटा मोटिभेटरका रूपमा रहंदैआएको छु । हरेकपटक २०–२५ प्रतियोगी सुन्दरीलाई हामी प्रशिक्षण दिन्छौं । सहभागीहरूमा राम्रो सुधार भएको पाउँछौं । उनीहरूको व्यक्तित्व तथा नेतृत्व विकासमा निखार आएको ६ हप्ते प्रशिक्षण नसकिंदै महसुस हुन्छ । प्रशिक्षण प्रभाव मापन भनेको आखिर सहभागीमा आउने सकारात्मक परिवर्तन न हो ।

मैले अभिभावकहरूलाई पनि सोध्ने गरेको छु, ‘मिस नेपालमा भाग लिएपछि छोरीमा केही सुधार पाउनुभयो ?’ केही फरक परेन भन्ने अभिभावक मैले अहिलेसम्म भेटेको छैन । त्यो नै हाम्रो सन्तुष्टि हो ।

सुन्दरी प्रतियोगितामा भाग लिने सहभागीलाई हामी भन्छौं, ‘आइदर यु विन अर लर्न ।’ अर्थात्, तपाईं या त जित्नुस् या सिक्नुस् । प्रतियोगितामा भाग लिने सहभागीले उपाधि जित्न नसके पनि व्यक्तित्व विकास, सशक्तीकरण र आत्मनिर्भर हुन सिकोस् भन्ने हाम्रो उद्देश्य रहन्छ । महिला सशक्तीकरणका अनेक उपाय हुनसक्छन् । जसरी सगरमाथाको चुचुरोमा पुग्न विभिन्न रुट प्रयोग गर्न सकिन्छ । कोही चीनतिरबाट चढ्छन्, कोही नेपालतर्फबाट । चढ्न अप्ठेरा अरु पनि रुट छन् । तर, उद्देश्य एउटै हो, सगरमाथा चढ्नु । त्यसरी नै सशक्तीकरण र व्यक्तित्व विकासका अनेक उपायमध्ये मिस नेपाल एउटा सशक्त प्लेटफर्म हो ।

मिस नेपालमा भाग लिन आएका प्रतियोगी भिन्न स्वभाव, क्षमता, प्रतिभाका हुन्छन् । औसत देखिने सहभागीले पनि प्रशिक्षणपछि राम्रो व्यक्तित्व विकास गरेका छन् । सन् २०१८ की मिस नेपाल शृंखला खतिवडा पनि प्रशिक्षणको आधाआधी समयसम्म कसैको नजरमा परेकी थिइनन् । प्रशिक्षक र अरु सहभागीले उनलाई औसत प्रतियोगीका रूपमा लिएका थिए । तर, उनले बिस्तारै प्रस्तुतिमा सुधार ल्याउँदै गइन् । चौथो हप्ता सकिएपछि शृङ्खलामा प्रस्ट क्षमता देखिन थाल्यो ।

प्रशिक्षण चलिरहेको थियो । एकदिन मैले कोरियोग्राफर रचना गुरुङ शर्मासँग सोधें, ‘केही सहभागीले एकाएक लय समातेका छन् नि ! ख्याल गर्नुभएको छ ?’

उनको नजर पनि शृङ्खलामा परेको रहेछ । भनिहालिन्, ‘हो नि सर ! शृङ्खलाले आफूलाई धेरै अगाडि ल्याइसकेको छ ।’

मैले जे देखिरहेको थिएँ । जे सोचिरहेको थिएँ, रचनाले पनि त्यही सोचेकी रहेछिन् । उनी मिस नेपाल प्रतियोगिताकी प्रमुख कोरियोग्राफर हुन् । स्थापनादेखि उनी सँगसँगै छन् । मैले प्रतियोगी सुन्दरीका लागि दिइने प्रशिक्षण हेर्ने भएकाले सहभागीमा आएको परिवर्तन हेर्न भनिरहन्थें । सयौं सुन्दरीसँग काम गरेकाले पनि रचनाले सहभागीको केही दिनको पर्फमेन्स र सिकाइ क्षमता हेरेर मिस नेपालको पूर्वानुमान गर्न सक्छिन् । उनको अनुमान थुप्रैपटक मिलेको पनि छ ।

मिस नेपालप्रतिको आकर्षण कतिसम्म छ भने अस्टेलियामा रहेकी अनुष्का श्रेष्ठ भाग लिनकै लागि नेपाल फर्किइन् । उनी अस्टेलियाको एउटा नाम चलेकै बैंकमा जागिर खाइरहेकी थिइन् । मिस नेपाल बन्ने उनको दृढ निश्चय कामयावी भयो पनि । सन् २०१९ मा उनी मिस नेपाल मात्र भइनन्, मिस वर्ल्ड प्रतियोगितामा तीनवटा अवार्ड जित्दै टप १२ सम्म पुगिन् ।

सुन्दरी प्रतियोगिताका सहभागीलाई मैले फुटबलको टिमसँग दाँज्ने गरेको छु । मैदानमा उत्रिएका सबै खेलाडीको उत्तिकै महत्त्व छ । उनीहरूसँग आ–आफ्नै विशिष्ट क्षमता छ, कला र प्रस्तुति छन् । तर, खेल सकिँदा एकाध खेलाडीको मात्र चर्चा हुन्छ । म्यान अफ द म्याच एक जना मात्र हुन्छ । त्यसको मतलब अरु सबै कमजोर थिए भन्ने होइन । सबै उत्तिकै काबिल थिए । तर, म्यान अफ द म्याच विशेष थियो । त्यस्तै, मिस नेपाल पनि उत्कृष्ट प्रतिभामध्ये सर्वोत्कृष्ट हो ।

काठमाडौं उपत्यकाबाहिर पनि अडिसन लिन थालेपछि मिस नेपालको चर्चा र आकर्षण झन् बढेको छ । काठमाडौंसहित सातै प्रदेशका मुख्य सात सहरमा गरिने अडिसनलाई हामीले सुन्दरी प्रतियोगिताप्रतिको भ्रम चिर्ने र वास्तविक प्रतिभा पहिचानको अवसरका रूपमा लिएका छौं । अडिसनलाई हामीले एउटा अभियानका रूपमा लिन्छौं । मिस नेपाल आयोजक टिमले स्थानीय साझेदार संस्थासँग मिलेर दुई दिन स्थानीय क्याम्पसहरूमा पुगेर उद्देश्य बताउने गरेको छ । मिस नेपाल प्रतियोगिताको उद्देश्य के हो ? मिस नेपाल हुनुको अर्थ के हो ? उठेका जिज्ञासा सम्बोधन गर्छौं । त्यसले मिस नेपालप्रतिका भ्रम निवारणमा मद्दत पुग्छ ।

धेरैलाई मिस नेपालमा भाग लिन धेरै खर्च गर्नुपर्छ भन्ने भ्रमसमेत छ । हामी विश्वस्त पार्छौं, यो फ्रि प्रतियोगिता हो । यसमा भाग लिन एक रुपैयाँ पनि लाग्दैन । प्रतिगोगीलाई दिइने व्यक्तित्व विकास प्रशिक्षणबारे पनि जानकारी दिइन्छ । दुई दिन सहरका क्याम्पसमा जानकारीमूलक अभियान चलाएपछि स्थानीय सञ्चारमाध्यममा अडिसनबारे सूचना दिन्छौं । पछिल्ला वर्षहरूमा अडिसनमा भाग लिने प्रतियोगीको सङ्ख्या बढिरहेको छ ।

सुन्दरी प्रतियोगितामा आवेदन दिन सहज छ । टेन प्लस टु पास गरेको, अविवाहित, उचाइ ५.३ इन्च रहेको राम्रो चरित्रको जोकोही नेपाली युवतीले भाग लिन सक्छन् । अडिसनमा उनीहरूको ट्यालेन्ट, व्यक्तित्व विकासको सम्भावना र प्रस्तुतिलाई हेरेर प्रारम्भिक छनोट गरिन्छ ।

पछिल्लो समय बोर्डिङ स्कुलबाट आएका अङ्ग्रेजी राम्रो भएका सहभागीको सङ्ख्या बढेको छ । त्यसले मिस नेपाल हुन अङ्ग्रेजी राम्रो हुनुपर्छ भन्ने भ्रम पनि देखिन्छ । त्यो सत्य होइन । पहिलो मिस नेपाल रुबी राणा स्वयम् अङ्ग्रेजीभन्दा नेपाली भाषाबाटै आफ्नो प्रस्तुति गरेर ताज पहिरिएकी हुन् ।

भाषा आफैंमा ठूलो कुरा होइन । उसको ट्यालेन्ट, प्रस्तुति र व्यक्तित्वले उसको सुन्दरताको मापन हुने हो । मिस वर्ल्ड भनौँ वा मिस युनिभर्स, आयोजकले सहभागीलाई तिम्रा लागि अनुवादक चाहिन्छ भनेर सोध्छन् । जापनिज सुन्दरीले कहिल्यै अङ्ग्रेजी बोल्दैनन् । अफ्रिकन मुलुकका प्रतियोगीले पनि अङ्ग्रेजी बोल्दैनन् । अङ्ग्रेजी राम्रो हुनु उत्तम हो तर अङ्ग्रेजी नजान्ने प्रतियोगीले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा निसङ्कोच भाग लिन पाउँछन् । ट्यालेन्ट छ भने भाषाले उसको प्रतिभा रोक्दैन । अङ्ग्रेजी नजान्दैमा सुन्दरी प्रतियोगिताबाट कोही पछि हट्नु पर्दैन ।

सरकारले सुरक्षा नदिएको वर्ष

झण्डै तीन दशक लामो मिस नेपाल प्रतियोगिताको इतिहासमा सन् २००८ बिर्सन नसकिने वर्ष बन्यो । संविधानसभा निर्वाचनपछि एमाले र मधेसवादी दलहरूको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । हिंसात्मक विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा आएकाले पनि होला देश माओवादीमय बनेको थियो । आफैं सत्तामा, आफैंविरोध प्रदर्शनमा उत्रिएर नेताहरू क्रान्तिकारी बनिरहेका थिए । त्यही मौकामा माओवादीले वर्षौंदेखि विरोध गरिरहेको मिस नेपाल प्रतियोगिता रोक्न खोज्यो ।

हामी प्रतियोगिता फाइनलको तयारीमा थियौं । माओवादीले कार्यक्रम रोक्न धाकधम्की र दबाब दिइरहेको थियो । प्रतियोगिता गरे जनकारबाही गर्नेसम्मका धम्की दिइयो । हिंसात्मक बाटोबाट आएको शक्ति भएकाले एक किसिमको भय त अवश्य थियो । तर, प्रतियोगितालाई निरन्तरता दिने दृढता पनि उत्तिकै थियो । गृहमन्त्री वामदेव गौतमलाई समेत भेटेर हामीले सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका थियौं । तर, त्यसको कुनै सुनुवाइ भएन ।

एक दिन एक हुल माओवादी नेतृहरू कुपन्डोलस्थित हिडेन ट्रेजरको अफिसमा बिनाजानकारी भित्र पसे ।

उनीहरूले बोर्डका मानिस खोजे । म अफिसमै बसेर प्रतियोगिताको तयारी गरिरहेको थिएँ । स्टाफ आत्तिंदै बोलाउन आए । मैले बैठक कक्षमा राख्न भने । म बैठक कोठामा जाँदा भीड निकै आक्रामक शैलीमा पेस भएको थियो ।

कुर्सीमा बसेको मात्र के थिएँ, उनीहरू ममाथि खनिइहाले । भन्नु नभन्नु भन्न थाले । उनीहरू तर्साउने ढङ्गले आएको बुझ्न कठिन भएन । आफ्नो कुरा राख्दा उनीहरू बारम्बार टेबुल ठोक्थे । आफूले भनेझैं नभए जे पनि हुनसक्नेभन्दै धम्काइरहेका थिए ।

सुन्दरी प्रतियोगिताको नाममा महिलालाई नङ्ग्याउने ?

महिला खेलौना हुन् ?

महिला विकाउ वस्तु हुन् ?

के सिकाउनुहुन्छ ?

काठमाडौंका १०–२० केटीहरूलाई मञ्चमा उतारेर मिस नेपाल भन्न पाइन्छ ?

यस्तैयस्तै भन्दै थिए । मैले नम्रतापूर्वक प्रतियोगिताले महिलालाई नङ्ग्याउँदैन, बरु उनीहरूको व्यक्तित्व विकासका लागि सघाउँछ । हामीले दिने प्रशिक्षणबाट महिला सशक्तीकरण हुन्छ, सहभागीले जीवन उपयोगी कला सिक्छन् भनें ।

मेरो कुराले उनीहरू रोकिनेवाला देखिएनन् । उल्टै आक्रोश पोखिरहेका थिए । अन्त्यमा उनीहरूले भने– ‘हामीलाई प्रतियोगीलाई भेटाउनुस्, हामी आफैं सम्झाउँछौं ।’

सानेपाको इन्टरनेसनल क्लबमा सहभागीका लागि प्रशिक्षण चलिरहेको थियो । हामीले अर्को दिन त्यहीं आउन उनीहरूलाई बिहानको समय दियौं । एकाध घन्टा उनीहरूसँग अन्तर्क्रिया गराएर प्रशिक्षणलाई निरन्तरता दिने तालिका बनायौं ।

संयोगवश, त्यो दिन नेपाली कला र संस्कृतिबारे संस्कृतिविद् सत्यमोहन जोशीको कक्षा तय गरिएको थियो । हामीले माओवादीका क्रान्तिकारी महिला नेतृलाई झेलिसकेका थियौं । उनीहरू कुन हदसम्म उग्र भएर प्रस्तुत हुन्छन् भन्ने हामी अनुमान गर्नसक्ने भइसकेका थियौं । त्यसैले पालो नआई उत्तेजनामा आएर नबोल्न सहभागीलाई भनिएको थियो । माओवादी नेतृका कुरा सुनिसकेपछि आफ्नो विचार तर्कपूर्ण एवं नम्र ढङ्गले प्रस्तुत गर्न भनेका थियौं ।

बिहान साढे ९ बजेदेखि माओवादी नेतृहरूसँग छलफल सुरु भयो । हामीले प्रतियोगिताका सबै सहभागीलाई त्यो छलफलमा बोलाएका थियौं । नेतृहरूले आफ्नै शैलीमा धम्क्याउने भाषामा आफ्ना कुरा राख्न थाले । उनीहरूको भनाइमा खासै तर्क थिएन, पुरानै कुरा थिए । मिस नेपाल पश्चिमा र बहुराष्ट्रिय कम्पनीले विकृतिका रूपमा संसारभर फैलाएको पुँजीवादी संस्कृति हो, यसले महिलालाई नङ्ग्याउँछ, बहुराष्ट्रिय कम्पनीले दुरूपयोग गर्छन् आदि इत्यादि ।

माओवादी नेतृहरूले सुन्दरी प्रतियोगिता र सहभागीको यति उछितो काढे कि सहभागीहरूले सहन सकेनन् । उनीहरू जुर्मुराएर बोल्नका लागि हात उठाउन थाले । हामीले उनीहरूलाई रोक्यौं र पालो पर्खिन भन्यौं । एउटा नेतृ सबैभन्दा उग्र निस्किइन् । उनले भन्नु नभन्नु भन्न थालिन् । तपाईंहरूलाई स्टेजमा उभ्याएर नङ्ग्याइन्छ । तपाईंलाई बिकाउ वस्तुका रूपमा प्रस्तुत गरिन्छ ।

त्यतिसम्म सहभागीहरूले सहिरहेका थिए । एक कदम अघि बढेर ती नेतृले फ्याट्ट भनिहालिन्– ‘तपाईंहरूलाई रखेलजस्तै बनाइन्छ ।’

अब सहभागीहरूको धैर्यको बाँध फुट्यो । उनीहरू जर्‍याकजुरुक्क उठे । हामीले रोक्ने कोसिस गरिरहेका थियौं । हामी कुनै अप्रिय घटना नहोस् भन्ने चाहन्थ्यौं । तर, सहभागी सुन्दरीहरूलाई ‘रखेल’ शब्दले विद्रोही बनाइदियो । एक सुन्दरीले बीचमै प्रतिवाद गरिन्, ‘के भन्दैहुनुहुन्छ थाहा छ ?’ उनीहरू बोल्न नपाए हिंड्छौं भन्न थाले ।

तैपनि, ती नेतृले आफ्नो मन्तव्य रोक्न खोजिनन् । झन् धेरै गालीगलौजमा उत्रिइन् । सहभागी सुन्दरी पनि रोकिइनन् । उनले भनिन्, ‘यस्ता पनि महिला अधिकारवादी हुन्छन् ? रखेल भन्ने ? को हो रखेल ? युद्धमा हिंड्दा टेन्टमा को पुरुषसँग रात बिताएँ भन्ने थाहा नहुने तपाईंहरू रखेल कि हामी ?’

अरु सहभागीहरूले समर्थनमा ताली बजाए । माओवादी नेतृहरू पनि प्रतिवादमा उत्रिए । धकेला–धकेलको स्थिति बन्यो । दुवै पक्षले गलत बोलेको भनेर हामीले बल्लतल्ल स्थितिलाई सामान्य बनायौँ ।

तय भइसकेको फाइनल प्रतियोगिता प्रभावित पार्नमा त्यो घटना मुख्य कारण बन्यो । हामी प्रतियोगिताको अन्तिम तयारीमा थियौं । मञ्च तयार भइसकेको थियो । अतिथिलाई निमन्त्रणा पुगिसकेको थियो । कार्यक्रम तालिका बनिसकेको थियो । सम्पूर्ण तयारी सकेर हामी अर्को दिनको प्रतीक्षामा थियौं ।

प्रतियोगिताको अघिल्लो दिन अबेर रातीसम्म बसेर काम सकेर जाने हाम्रो बानी थियो । त्यो दिन पनि हिडेन ट्रेजरको अफिसमा बोर्ड डाइरेक्टरहरू छुटेका काम चेक गर्दै थियौं । साँझको ७ बजेतिर काठमाडौं जिल्ला प्रशासन कार्यालयका कर्मचारी प्रहरीसहित अफिसमा आए र हामीलाई पत्र थमाए । पत्रमा सुरक्षाका कारण मिस नेपाल प्रतियोगिता स्थगित गर्न भनिएको थियो ।

त्यो पत्रले हाम्रो टिम अवाक् भयो । सशस्त्र द्वन्द्वको उत्कर्षमा त सरकारले सुरक्षा दिन सक्दिनँ भनेन । अहिले द्वन्द्वरत पक्ष शान्ति प्रक्रियामा आएको र आफैं सरकारमा रहेका बेला रोक्नै परे पनि अरु नै कारण हुन सक्थ्यो होला । सुरक्षाको कारण देखाएर रोक्नुजस्तो लाचारी अरु के हुन सक्थ्यो ?

प्रशासनका कर्मचारीसँग हामीले केही बेर गलफत्ती गर्‍यौं । अफिस समयभन्दा पछि आएको पत्र हामी बुझ्दैनौँ । भोलि बिहान १० बजे अफिस खुलेपछि आउनूस् भन्यौं । हामीले प्रतियोगिता नरोक्ने भनेर पनि घुर्क्यायौं । ती कर्मचारीसँग आक्रोश पोख्यौं । तर, त्यसको कुनै अर्थ थिएन ।

उनी त चिट्ठी बुझाउन आएका सामान्य कर्मचारी न थिए । उल्टै चिट्ठी नबुझे के हुन्छ भनेर चेतावनी दिए । ‘यो प्रशासनले गरेको निर्णय हो । तपाईंहरूले चिट्ठी बुझ्दा राम्रो हुन्छ । नबुझे पनि तपाईँहरू कार्यक्रम गर्न सक्नुहुन्न । हामीले मुचुल्का उठाएर कार्यक्रमस्थल, तपाईंहरूको अफिसमा टाँसिदिन्छौं । त्यो नै आधिकारिक हुन्छ,’ ती कर्मचारीले यति भनिसकेपछि हामीले उनीसँग बहस गर्नुको अर्थ थिएन । पत्र बुझिदियौं ।

माओवादी सरकारले कार्यक्रम रोक्न खोज्ला भन्ने अनुमान त थियो तर अघिल्लो दिन यसरी पेस होला भन्ने अनुमान गरिएको थिएन । अब के गर्ने ? त्यत्रो तयारी भइसकेको थियो । गर्नुपर्ने खर्च गरिसकेका थियौं । दर्शक, सहभागी, निर्णायक उपस्थित हुन मात्र बाँकी कार्यक्रम रातारात स्थगित गर्नुपर्दा हामी मर्माहत भयौं ।

बोर्डको आकस्मिक बैठकपछि हामी एउटा निष्कर्षमा पुग्यौं– जस्तोसुकै स्तरमा भए पनि प्रतियोगितालाई निरन्तरता दिऊँ ।

हामीले प्रशासनलाई नै सरप्राइज दिने रणनीति बनायौं । अभिभावकलाई रातारात फोन गरेर सहभागी लिएर भोलि बिहानै ललितपुरको इन्टरनेसनल क्लब आउन भन्यौं । कार्यक्रमस्थलबाट मञ्चलगायत सम्पूर्ण साजसज्जा रातारात क्लबमा सार्‍यौं । त्यहाँ फाइनल गर्न सकिने गरी मञ्च तयार गर्न लगायौं । निर्णायकलाई पनि बिहानै बोलायौं ।

बिहानदेखि दिउँसोसम्म प्रतियोगिताका सबै प्रक्रिया पूरा गरेर मिस नेपाल घोषणा गर्ने र तोकिएको ४ बजेको समयमा इन्टरनेसनल क्लबमै उपाधि विजेता सुन्दरीसहित पत्रकार सम्मेलन गर्नेगरी हाम्रो तयारी अगाडि बढ्यो । सोहीअनुसार पत्रकार सम्मेलनका लागि निमन्त्रणासमेत गरियो ।

कानुनी आधारमा टेकेरै जुक्ति निकालिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पो कार्यक्रम रोक्न निर्देशन दिएको थियो । हामीलाई ललितपुरमा फाइनल गर्न त्यो पत्रले रोक्दैनथ्यो । त्यही झिनो आधारमा भए पनि प्रतियोगितालाई निरन्तरता दिनुपर्छ भन्नेमा हामी दृढ थियौं ।

भोलिपल्ट बिहानै अभिभावकहरू सहभागी छोरी लिएर इन्टरनेसनल क्लबमा आइपुगे । निर्णायक मण्डलका ११ जना पनि आइसकेका थिए । इन्टरनेसनल क्लबको बाहिर एक ट्रक प्रहरी तैनाथ भए । ब्रेक फास्टसँगै हामीले अभिभावकसँग छलफल सुरु गर्‍यौं । तयारीबारे खुलस्त पारेर हामीले राय लिन चाहेका थियौं । एकाएक प्रतियोगिता रोक्न खोजिएकामा अभिभावकहरू पनि सरकारसँग रुष्ट थिए । धेरैको मत थियो– यो राज्य र माओवादीको ज्यादती भयो । कसैले चाहँदैमा सम्पूर्ण तयारी भइसकेको र निरन्तर चलिरहेको मिस नेपाल रोक्नुहुन्न ।

स्थानीय प्रशासनले रोक्दारोक्दै प्रतियोगिता गर्नु राज्यसँग टक्कर लिने कुरा थियो । त्यसैले सोंच विचार गरेरै सबैको राय सल्लाह लिएर निर्णय गर्ने हाम्रो योजना थियो । हामीपनि भित्रभित्रै कार्यक्रम गरेरै छाड्ने मनस्थितिमा थियौं । लन्च खाँदासम्म निष्कर्ष निस्किएन । बरु छलफल लम्बिँदै जाँदा मत बाझिन थाले । केही अभिभावकले राज्यको निर्देशन नमानेर जबर्जस्ती नगर्ने कि भन्न थाले ।

र, यसरी घोषित मिस नेपालको महत्त्व र प्रतिष्ठा पनि त्यति राम्रो नहोला भन्ने मत देखियो । यतिधेरै विवाद भइसकेपछि एक वर्ष रोकेर अर्को वर्ष सुचारु गर्नु राम्रो हुने धेरैको सुझाव आयो । हाम्रो योजना अभिभावकको सर्वसम्मत सुझाव लिएर दिनभरमा प्रतियोगिता सम्पन्न गर्ने र अपराह्न ४ बजे पत्रकार सम्मेलनमा नयाँ मिस नेपालको घोषणा गर्ने भन्ने थियो । तर, छलफल गर्दैमा दिन बित्यो । पत्रकारहरू आउन थालिसके । हामी टुङ्गोमा पुग्न सकेनौं । अन्तिममा बोर्डको बैठक बसेर मिस नेपाल २००८ स्थगित गर्ने निर्णय गरियो । त्यही निर्णय पत्रकार सम्मेलनबाट सार्वजनिक गरियो ।

एउटा प्रतियोगिता रोकिंदा भाग लिएका थुप्रै युवाको मिस नेपाल बन्ने सपना तुषारपात भएको थियो । त्यो वर्ष भाग लिएकामध्ये ४–५ जनाले अर्को वर्षको प्रतियोगितामा पनि भाग लिए । अरु र्‍याम्पमा नउत्रिएरै घर फर्किए ।

माओवादीका भातृसङ्गठनले आतङ्क खडा गरेका थिए । हामीले कुनै गैरकानुनी काम त गरेका थिएनौं । तर, उनीहरू यसरी सुन्दरी प्रतियोगिताको विरोध गरिरहेका थिए, मानौं हामी कुनै अवैध काम गरिरहेका छौं । सामाजिक मर्यादाविपरीतको काम गरिरहेका छौं । वर्षैपिच्छे हुने विरोधले हामी वाक्क थियौं । मानवअधिकारकर्मी सुदीप पाठकजीले उपाय सुझाए– अन्त गर्नुभन्दा आर्मी क्लबमा गर्दा सुरक्षित होला ।

हामीलाई उनको सुझाव सही लाग्यो । आर्मी क्लबमा जोकोही पस्न सक्दैनथ्यो । विरोध गर्नलाई पनि त्यो उपयुक्त ठाउँथिएन । केही वर्ष हामीले भद्रकालीको आर्मी क्लबलाई सुन्दरी प्रतियोगिता गर्ने थलो बनायौँ । विरोध त त्यहाँ पनि भयो । तर, वीरेन्द्र अन्तर्राष्ट्रिय सभाहलमा जस्तो भएन । समयभन्दा पहिल्यै अतिथिलाई भित्र पठाउँथ्यौँ । विरोधकर्ता महानगरपालिकाअघिको गेटमा विरोध गर्थे, हामी भद्रकालीको गेटबाट अतिथि भित्र लैजान्थ्यौँ ।

केही वर्षसम्म एउटा सेडुअल बन्यो, मिस नेपाल प्रतियोगिताका दिन दिउँसो केहीबेर महानगरतर्फको गेटमा आधा/एक घन्टा विरोध प्रदर्शन हुन्थ्यो । भित्र निर्वाध रूपमा कार्यक्रम सञ्चालन हुन्थ्यो । नेपाल टेलिभिजनमा लाइभ कार्यक्रम निर्धारण गरिएको हुन्थ्यो । त्यसैले थोरै मात्र पनि समय तलमाथि गर्न मिल्दैनथ्यो । समयमै कार्यक्रम सुरु हुन्थ्यो । निर्णायक र सहभागी कुनै पनि हालतमा नरोकिऊन भनेर हामी सचेत हुन्थ्यौं । महानगरतर्फको गेटमा विरोध हुने भएपछि हामीले सैनिक मुख्यालयको सहयोग लिएर निर्णायकलाई माइतीघरबाट सिधै भित्र आर्मी क्लबमा आउने व्यवस्था मिलाएका थियौं ।

(मिस नेपालका संस्थापक सुवर्ण क्षेत्रीको संस्मरणात्मक पुस्तक सपना, विश्वास र अठोटको पुस्तक अंश । क्रियटिभ बुक्सले प्रकाशित गरेको यो पुस्तक बिहिबार काठमाडौंमा लोकार्पण भएको छ ।)


Source: Online Khabar
Comment As:

Comment (0)