•   Saturday, 15 Jun, 2024

गैंडा मारेको घटना छानबिन समितिले उठायो निकुञ्जको सुरक्षामाथि गम्भीर प्रश्न

this
Generic placeholder image
  

१८ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहा अन्तर्गत चपरचुली सुरक्षा पोष्ट नजिकै कोर क्षेत्रमा तस्करहरुले दुईवटा गैंडा मारेको घटना छानबिन गर्न गठित समितिले निकुञ्जको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

निकुञ्जको मुख्य कार्यालय कसरा, सेक्टर कार्यालय सौराहा, रेञ्ज पोष्ट र पोष्टबाट गरिने गस्ती प्रभावकारी नभएको उल्लेख गरिएको प्रतिवेदनमा संयुक्त गस्तीको संख्या नै कम भएको दाबी गरिएको छ । अधिकांश समय राप्ती नदी तटीय क्षेत्रमा गस्ती गर्दा कोर इलाका र गैंडाको बासस्थानमा ध्यान केन्द्रित हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

चोरी शिकारी नियन्त्रण गर्न नयाँ सोच ल्याउनुपर्नेमा नभएको, संवेदनशील क्षेत्रमा तालिका बनाएर लङ रेन्ज पेट्रोल र स्वीपिङ कमी भएको, सुराकी व्यवस्थापन, सूचना संकलन र विगतमा अदालतबाट भएका फैसला अनुसार जेल सजाय भुक्तान गरी बाहिर निस्केका व्यक्तिको निगरानी नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तस्करहरुको समूहले निकुञ्ज क्षेत्रभित्र दुईवटा खाल्डोमा पारेर दुईवटा गैंडा मारेको र खाग र खुर काटेर लगेको घटना कात्तिक मसान्तमा सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएको भोलिपल्ट अर्थात् मंसिर १ गते वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सोही समितिले मंसिर १२ गते बुझाएको प्रतिवेदनमा निकुञ्जको सुरक्षा प्रबन्धमाथि गम्भीर प्रश्न उठाइएको छ ।

प्रतिवेदनमा के छ ?

तस्करहरुले घोलबाट ५० मिटरको दूरीमा खनेको २.६ मिटर लम्बाइ, १.१ मिटर चौडाइ र १.५ मिटरको  खाडलमा ६ वर्षको पोथी गैंडा र २.५ मिटर लम्बाइ, १.४ मिटर चौडाइ र १.५ मिटर गहिरो खाडलमा १८ वर्षको पोथी गैंडा परेका थिए ।

पहिले ठूलो गैंडा र त्यसको ७ दिनपछि सानो गैंडा खाडलमा परेका थिए । ठूलो गैंडाको आकार बराबरको खाडल भएकाले टाउको तल परेर घाँटी भाँचिएर गैंडा मरेको थियो । गैंडाका करङ्गहरुसमेत भाँचिएका थिए । गैंडा मरेपछि खाग फुकालेको र सानो गैंडा ठूलो खाडलमा परेकाले तत्काल नमरेपछि नजिकैबाट गोली हानेर मारेर धारिलो हतियारले खाग काटेर लगेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

घटनास्थल नजिकै आगो बाल्ने अगेनो, कपडाका टुक्रा, पानीका बोतलसमेत भेटिएकाले तस्करहरु सेल्टर बनाएर बसेको देखिएको छ । जंगलभित्र नै गैंडाको खाग काटेर, आगो बालेर खाग उमालेर सफा गरेको पनि पाइएको छ । तर निकुञ्ज प्रशासनले त्यसको सुइँकोसम्म पाएन ।

प्रतिवेदनमा लेखिएअनुसार गैंडा मार्न निकुञ्जको सुरक्षा पोष्टबाट २.३ किलोमिटर र राप्ती नदीबाट करिब ३.५ किलोमिटर नजिकै झण्डै २० दिनभन्दा बढी समय लगाएर तस्करहरुले ७ वटा खाल्डा खनेका थिए । तस्करहरुले पानीको घोल नजिकै गैंडा आउने बाटो, आनीबानी र समयको समेत रेकी गरेर खाडल खनेका थिए ।

खाडल खन्दा निस्किएको माटोलाई अन्यत्रै लगेर फालेर खाडलमाथि प्राकृतिक जस्तो देखाउन घाँसपात हालेर छोपेका थिए । खाल्डो नजिकै अग्लो अस्थायी मचान बनाएर गैंडाको अवस्था बुझेका थिए ।

निकुञ्जको हात्ती हराएर खोज्न जाँदा मात्र गैंडा खाडलमा परेर मरेको अवस्थामा भेटिएका थिए । निकुञ्जका अधिकारीहरुका अनुसार ती गैंडा २० दिन अगाडि नै मारेको पाइएको छ । गैंडा मारेको २० दिनसम्म पनि सो ठाउँमा निकुञ्जका कोही नपुगेको देखिएको छानबिन समितिको प्रतिवदेनमा उल्लेख छ ।

सुझाव

समितिले थप क्षति हुन नदिन २०८० माघ १ गतेभित्र निकुञ्जको पुरै क्षेत्रमा तत्काल स्वीप अप्रेशन चलाएर वर्तमान अवस्थासहितको प्रतिवेदन विभागमा पेश गर्न पनि भनेको छ ।

छानबिन समितिले निकुञ्जका कर्मचारी रहने गरी चोरी सिकारी नियन्त्रण सशक्त टोली गठन नगरेको जनाएको छ ।

चुरे क्षेत्रका घाँच र चुरे क्षेत्रबाट बग्ने खहरे खोल्साबाट छिरेर भइरहेको आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सम्वेदनशील क्षेत्रमा जासुरी क्यामेरा र वाइल्डलाइफ मनिटरिङ क्यामेरा राख्न समितिले सुझाव दिएको छ ।

निकुञ्जभित्र ठूलो संख्यामा कर्मचारी रिक्त भएको, कर्मचारीहरुको मोटिभेसनमा कमी भएको तथा नेपाली सेना र निकुञ्ज दुवैतर्फ सरुवा वा गण वा गुल्म परिवर्तन हुँदा सम्पूर्ण टिम नै नयाँ बन्ने परिपाटीले संस्थागत स्मृति हस्तान्तरणमा असर गरेको विषयलाई समेत समितिले उजागर गरेको छ ।

आइल्याण्ड क्षेत्र र टेम्पल टाइगर क्षेत्रमा पहुँच विस्तार गर्न तथा गस्ती प्रभावकारी बनाउन पोष्ट तथा टेम्पल टाइगर जस्ता सुरक्षा सम्वेदनशील पोष्टमा बाह्रै महिना हात्तीको व्यवस्था गर्न सुझाव दिइएको छ । त्यस्तै गैंडा संरक्षणलाई प्रभावकारी बनाउन समुदायमा आधारित चोरी शिकार प्रतिरोध इकाइलाई सक्रिय बनाउन, मध्यवर्ती सामुदायिक वन र उपभोक्तासमितिसँगको समन्वयमा नियमित गस्तीका लागि स्थानीयलाई समेत परिचालन हुने व्यवस्था मिलाउन पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।

नारायणी नदीको आइल्याण्ड र तल्लो तटीय क्षेत्र तथा राप्ती नदीको कसरा पश्चिमको तटीय क्षेत्र सुरक्षाका दृष्टिकोणले संवेदनशील र खतरापूर्ण देखिएकाले गैंडाको उपस्थिति र स्थान विषेशको अवस्थालाई मध्यनजर गरेर बाढीबाट जोगाउन ढिस्काहरु बनाउन र ती स्थानमा नियमित गस्तीको व्यवस्था मिलाउन सुझाव दिइएको छ ।

वर्षातको समयमा वन्यजन्तुलाई घाँसे मैदानमा जान धेरै सकस हुने भएकाले त्यसको तत्काल सरसफाइ एवं व्यवस्थापन गर्नुपर्ने सुझाव समितिको छ । छानबिन समितिका संयोजक ढकालले निकुञ्जको सुरक्षा, अपनाउनुपर्ने सावधानी र समन्वयलगायतको विषयलाई समेटेर प्रतिवेदन दिइएको बताए ।

निकुञ्ज विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले समितिले बुझाएको प्रतिवेदन अनुसार नै विभागले थप काम गर्न निकुञ्जलाई निर्देशन दिने बताए ।

आठ जना सार्वजनिक

गैंडा मारेको अभियोगमा पक्राउ परेका ८ जनालाई घटना भएको ११ दिनपछि निकुञ्जले सार्वजनिक गरिएको छ । उनीहरुले गैंडा मार्नेदेखि तस्करीसम्म गर्ने विभिन्न भूमिका निर्वाह गरेको अनुसन्धानबाट देखिएको निकुञ्ज प्रशासनको भनाइ छ ।

गैंडा मार्ने मुख्य योजनाकार र नाइकेको रुपमा रमेश खाती, शम्शेर थिङ र सीताराम थिङलाई प्रस्तुत गरिएको छ । उनीहरु तीनै जनालाई राप्ती नगरपालिका–६ बाट पक्राउ गरिएको थियो । यस्तै, आइतेसिंह मोक्तान, उनबहादुर स्याङ्तान र इन्द्रबहादुर तामाङ गैंडा मार्ने शिकारी भएको निकुञ्जको दाबी छ ।

अर्जुन रोका र धनबहादुर गुरूङलाई खाग बिक्री वितरण र शिकारीलाई सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ ।

उनीहरूमध्ये ६ जनालाई मंसिर ९ गते तथा उनबहादुर स्याङ्गतान र इन्द्रबहादुर तामाङलाई मंसिर ११ गते पक्राउ गरिएको थियो । उनीहरु राप्ती नगरपालिका वडा नं. ५ र ६ बाट पक्राउ परेका हुन् ।

गैंडा मारेको घटना थाहा भएको ११ दिनभित्रै उनीहरूलाई पक्राउ गर्न निकुञ्ज तथा सुरक्षाकर्मीहरू सफल भएको दावी निकुञ्जले गरेको छ । निकुञ्ज विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले गैंडा तस्करहरूको गिरोह घटना भएलगत्तै पक्राउ पर्न सम्भव हुनु सुखद पक्ष भएको बताए ।

४ वर्षमा तस्करले मारे ११ गैंडा

माओवादी द्वन्द्वको समयमा नेपाली सेनाका पोष्टहरु घटाइँदा तस्करहरुले एकै वर्षमा ३८ बटासम्म गैंडा मारेको तथ्यांक छ । २०७० सालपछि गैंडा चोरी शिकारी करिबकरिब नियन्त्रणमा आएको थियो ।

आर्थिक बर्ष २०७५/०७६ मा ४३ गैंडा प्राकृतिक कारणले मरेको तथ्यांक सार्वजनिक भएपछि धेरैको चासो यसतर्फ पर्न थाल्यो । सो आर्थिक वर्ष गैंडा तस्करले मारेका हुन् कि भन्ने आशंका गर्ने कतिपय घटनाहरु थिए ।

निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२/०७३ देखि २०७६/०७७ सम्म करिब ५ वर्षको अवधिमा तस्करले एउटामात्र गैंडा मात्रै मारेको देखिन्छ । तर, आर्थिक वर्ष २०७७/७८ देखि तस्करहरु सल्बलाउन थालेको र उनीहरुले हरेक वर्ष गैंडा मार्न थालेको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा ४, आर्थिक वर्ष २०७८/०७९ मा २, आर्थिक वर्ष २०७९/८० मा २ र चालु आर्थिक वर्ष २०८०/०८१ मा २ वटा गैंडा तस्करले मारिसकेका छन् । समग्रमा पछिल्लो ४ आर्थिक वर्षमा मात्रै ११ वटा गैंडा चोरी शिकारीले मारेका छन् ।

निकुञ्जभित्र भरपर्दो सुरक्षा गस्ती र निगरानी नहुँदा अन्यत्र ठाउँमा समेत गैंडा मारेको हुन सक्ने आशंकालाई पछिल्लो घटनाले बल दिएको छ । दुई गैंडा मारेको ठाउँमा गत भदौ १४ गते मृत गैंडाको हाडखोर मात्रै भेटिएको थियो । गैंडाको खाग भेटिएको थिएन । सो गैंडा पनि तस्करहरुले मारेको हुन सक्ने आशंका गरिएको छ ।


Source: Online Khabar
Comment As:

Comment (0)