•   Wednesday, 19 Jun, 2024

विदेशतिर विद्यार्थीको लावा-लस्कर, रित्तिँदै नेपालका विश्वविद्यालय

this
Generic placeholder image
  
  • एलिसा अर्याल

काठमाडौं । आर्थिक उपार्जन तथा विलासी जीवनको खोजीमा युवा विद्यार्थीहरु विदेशिने क्रम बढ्दै, नेपालका विश्वविद्यालय रित्तिदै, अभिभावकले पनि देखेनन् नेपालमा छोराछोरीको भविष्य ।

पछिल्लो पाँच महिनाको अवधिमा मात्रै विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ५ सय ५५ जनाले ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको वैदेशिक अध्ययन अनुमति शाखाको यो तथ्याङ्कले विशेष गरी युवापुस्ता मुलुकमा टिक्न नसकेको डरलाग्दो अवस्थाको चित्रण गरेको छ । एनओसी अनुमोदन कुरेर बस्नेहरूको संख्या पनि त्यति नै छ । २७ हजार ५ सय ९ जना एनओसीको पर्खाईमा छन् । दैनिक रुपमा एनओसीका लागि ८ सयदेखि एक हजार जनाले आवेदन दिने गरेका छन् । जसमा ५ सय जनाको अनुमोदन हुने गरेको छ । गत आर्थिक वर्षमा १ लाख १० हजार २ सय १७ जनाले एनओसी लिएका थिए । यो वर्ष त्यो संख्या बढ्ने अनुमान गरिएको छ ।

स्वदेशी शिक्षाको प्रवद्र्धनका लागि सरकार तथा निजी क्षेत्रबाट स्थानीय स्तरमै विभिन्न अभियान सञ्चालन गरिएको भए पनि प्रभावकारी हुन सकेको छैन । उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढेसँगै त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको संख्या घट्न थालेको छ । विद्यार्थीको संख्या घट्न थालेको भन्दै त्रिविले स्नातकलाई तीन वर्षमा झार्ने गृहकार्य पनि शुरु गरेको छ । तर पनि विद्यार्थीहरूले स्वदेशको शैक्षिक प्रणाली माथि विश्वास गर्न सक्ने वातावरण बनेको छैन । समयमा परीक्षा नहुने, नतिजा ढिलो गरि प्रकाशित हुने, रोजगारीको अवसर नहुनु, व्यवहारिक भन्दा सैद्धान्तिक शिक्षामा जोड जस्ता कारणले विद्यार्थीहरुको विदेशतिर ताँती लागेको छ भने अभिभावकहरूले पनि आफ्नो छोराछोरीका लागि देशमा बस्ने वातावरण देखिरहेका छैनन् ।

विश्वविद्यालयले जनशक्ति र ज्ञानको उत्पादन गर्छन् । विश्वविद्यालयले आफूले उत्पादन गरेको जनशक्तिको बजारीकरण गर्ने दिशामा कुनै चासो दिएको पाइँदैन । कुनै तह उत्तीर्ण गरेको प्रमाण पत्र विद्यार्थीलाई थमाएपछि विश्वविद्यालयले आफ्नो दायित्व पूरा भएको ठान्छ । शिक्षाविद्हरु यस्तो अवस्था आउनुमा सबैले जस लिनुपर्ने बताउँछन् ।

पछिल्लो समय प्लस टु सक्नेबित्तिकै उच्च अध्ययनका लागि विद्यार्थीहरू विदेश जाने गरेका छन् । वैदेशिक अध्ययन प्रतिभा पलायनमा मात्र सीमित छैन । ऊर्जाशील, उत्पादनशील र प्रतिभावान् विद्यार्थीको पलायनसँगै हुने पुँजी पलायन देशको लागि दीर्घकालीन चिन्ताको विषय बनेको छ । यसतर्फ सरकार र सरोकारवाला निकायहरू गम्भीर बन्न जरुरी छ ।


Source: News24Nepal
Comment As:

Comment (0)